फिल्म ‘बाः एक योद्धा’ले प्रदर्शनको १० दिनमा १ करोड ९३ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म १० दिनमा १ करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रस कलेक्सन गरेको हो।
फिल्मलाई १० दिनमा ६५ हजार ५ सय ६० दर्शकले हेरेका छन्। प्रदर्शनको सुरुवाती चार/पाँच दिनपछि पिकअप लिएको फिल्म अहिले उत्साहजनक रूपमा चलिरहेको निर्माणपक्षले जनाएको छ।
वर्ड अफ माउथ राम्रो भएका कारण हरेक दिन दर्शकको चाप बढ्दै गएको निर्देशक हरि लम्सालले बताए।
“शो थपिने क्रम बढ्दै गएको छ। फिल्म राम्रो छ र हेर्नैपर्ने भन्ने दर्शकको प्रतिक्रिया आइरहेको छ,” उनले भने, “त्यसैले अबका दिनमा दर्शकले हाम्रो फिल्मलाई थप साथ दिनुहुने विश्वास छ।”
फिल्मले नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीको कथा प्रस्तुत गरेको छ। सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले भोग्ने उपेक्षा र दुःखसम्मका विषयलाई फिल्मले कथाको केन्द्रमा राखेको छ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै हो। वसन्त लम्साल निर्माता रहेको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन्।