फिल्मी फण्डा। नेपाली चलचित्र 'मालती मंगले' को अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्ड प्यालेस ओभनमा आयोजित रेड कार्पेट प्रिमियर भव्य रूपमा सम्पन्न भएको छ। निर्माता तथा गायक रामकृष्ण ढकालको उपस्थितिमा सम्पन्न भीआईपी डिनर शोमा अपेक्षाभन्दा बढी दर्शकको सहभागिता देखिएको थियो।
दुई सय सिट क्षमताको हलमा तीन सयभन्दा बढी दर्शक उपस्थित भएपछि कार्यक्रम हाउसफुल मात्र नभई ओभरफ्लो भएको निर्माता ढकालले जानकारी दिएका छन्। सिड्नीमा रहेका नेपाली समुदायका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थितिबीच सम्पन्न प्रिमियरमा दर्शकले चलचित्रको कथावस्तु र प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए।
विशेषगरी कलाकार वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, शकु शाह र प्रकाश घिमिरेको अभिनयले दर्शकको मन जितेको प्रतिक्रिया प्राप्त भएको छ।
दर्शकको उत्साहजनक साथबाट हौसिएका निर्माता ढकालले कार्यक्रम अपेक्षाभन्दा सफल भएको भन्दै सम्पूर्ण आयोजक तथा निर्माण टोलीप्रति खुसी व्यक्त गरे। उनले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने माउन्ट पुमोरीको टोली, सुबास थापा, संयोजक शोभित बस्नेत, प्रायोजक तथा सह-निर्माताहरूप्रति विशेष आभार व्यक्त गरे।
चलचित्र प्रदर्शनपछि आयोजित सांगीतिक कार्यक्रममा रामकृष्ण ढकालले आफ्ना आठ लोकप्रिय गीत प्रस्तुत गरेका थिए। उनलाई **'द भ्वाइस अफ नेपाल'**बाट चर्चामा आएकी तथा हाल अस्ट्रेलियामा अध्ययनरत गायिका अञ्जली हमालले चार वटा युगल गीतमा साथ दिएकी थिइन्।
सिड्नी प्रिमियर 'मालती मंगले'को अन्तर्राष्ट्रिय प्रदर्शन अभियानअन्तर्गतको महत्त्वपूर्ण कार्यक्रम रहेको बताइएको छ। निर्माता ढकालले यसअघि अमेरिका र क्यानडाका विभिन्न सहरमा चलचित्र प्रदर्शनसँगै सांगीतिक कार्यक्रम सम्पन्न गरिसकेका छन् भने आगामी चरणमा युरोपलगायत अन्य देशहरूमा पनि यो अभियान विस्तार गरिने जनाइएको छ।
रानी फिल्म्स र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। कथा पनि निर्देशक पाण्डेयकै हो भने पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका छन्।
चलचित्रमा सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको पनि अभिनय रहेको छ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्। चलचित्रको छायांकन महेश पौडेल, सम्पादन रोमी मोजेज, कलर कृष्ण भण्डारी, ब्याकग्राउन्ड स्कोर सुजिल कर्माचार्य तथा साउन्ड मिक्सिङ डिकेश खड्गीले गरेका छन्।