फिल्मी फण्डा । अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’को टिजर सार्वजनिक गरिएको छ। गुरु पूर्णिमाको अवसर पारेर बुधबार निर्माण टिमले टिजर रिलिज गरेको हो।
एक मिनेट ५७ सेकेन्ड लामो टिजरले अटिजम भएकी दिदी र भाइबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। पार्वतीको भूमिकामा रहेकी नीता ढुङ्गाना र उनका भाइको भूमिकामा रहेका अशोक दर्जीलाई मात्रै समेटिएको टिजरले दिदी–भाइको आत्मीय सम्बन्धलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। ‘छोरीले भगवान् देखेकी छैन, तिमीलाई देखेकी छ’ भन्ने संवादले फिल्मको भावलाई अझ प्रभावकारी बनाएको छ।
भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्मको टिजरले कथाप्रति दर्शकमाझ उत्सुकता जगाउने प्रयास गरेको छ। टिजरको सम्पादन साहिल खानले गरेका हुन्।
यसअघि सार्वजनिक भएको रत्यौली गीत ‘नौतुना रेलैमा’ले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।
नीता ढुङ्गानाकै कथा, पटकथा र निर्देशन रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छिन्। उनीसँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ। फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्।
सुदीप बरालको छायांकन रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ। शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर हुन् भने हरिहर अधिकारी निर्माता हुन्। फिल्मको सम्पादन तथा टिजर–ट्रेलर निर्माण साहिल खानले गरेका छन्।
फिल्मका गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर छ भने गीतका शब्द हर्क साउदले लेखेका हुन्। संगीत दीपक शर्मा, बाबुल गिरी र प्रशान्त सिवाकोटीलगायतले दिएका छन्। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन्।
रोयल भीमसेनले पोस्टर डिजाइन गरेको फिल्मको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन्। फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।