फिल्मी फण्डा। आगामी नेपाली सांगीतिक चलचित्र ‘रिक्तता (RIKTATA)’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। शुभमुहूर्त समारोहसँगै सार्वजनिक गरिएको पोस्टरसँगै निर्माण टोलीले चलचित्र निर्माणको औपचारिक सुरुआत भएको जनाएको छ।
निर्माण पक्षका अनुसार चलचित्रले नेपाली समाजका यथार्थ, मानवीय संवेदना र सम्बन्धका विविध आयामलाई सांगीतिक कथामार्फत प्रस्तुत गर्नेछ। प्रेम, पीडा, त्याग, आशा तथा मानवीय सम्बन्धका पक्षलाई समेटिएको चलचित्र परिवारदेखि युवा पुस्तासम्मका दर्शकसँग जोडिने विश्वास निर्माण टोलीले लिएको छ।
चलचित्रको निर्देशन राजा श्रेष्ठ ले गरेका छन् भने कथा नवीन चौलागाईं ले लेखेका हुन्। चलचित्रका गीतमा प्रकाश घिमिरे को स्वर तथा संगीत रहेको छ। गीतका शब्द युवराज काफ्ले राई र रणजित प्रकाश घिमिरे ले लेखेका हुन्। संगीत निर्माण साइरस श्रेष्ठ ले गरेका छन् भने सारङ्गी वादन मनिस गन्धर्व को रहेको छ।
हिल्स प्रोडक्सन को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई निर्माण पक्षले ‘हरेक कथाको आफ्नै आवाज र हरेक भावनाको आफ्नै धुन भएको सांगीतिक यात्रा’ का रूपमा वर्णन गरेको छ। नेपाली समाजका अनेक अनकथा र जीवनका अनुभूतिलाई संगीत र कथामार्फत अभिव्यक्त गर्ने उद्देश्य रहेको निर्माण टोलीको भनाइ छ।
चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन। निर्माण पक्षका अनुसार प्रदर्शनसम्बन्धी थप विवरण उपयुक्त समयमा सार्वजनिक गरिनेछ।