‘महाराजधिराज’को गोप्य भिडियो टिकटकमा हालेपछि स्पटब्वायविरुद्ध मुद्दा, ५१ लाख क्षतिपूर्ति दाबी

फिल्मी फण्डा। छायांकनका क्रममा खिचिएको गोप्य भिडियो मोबाइलमा रेकर्ड गरी टिकटकमा सार्वजनिक गरेपछि कथावस्तु र गोपनीयता भंग भएको दाबी गर्दै फिल्म ‘महाराजधिराज’ का निर्माताले एक प्राविधिक (स्पटब्वाय) विरुद्ध मुद्दा दायर गरेका छन्।

उक्त कार्यका कारण ६ दिनको छायांकन खेर गएको दाबी गर्दै निर्माताले प्रतिवादीसँग ५१ लाख रुपैयाँ क्षतिपूर्ति पनि माग गरेका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले नुवाकोटका २७ वर्षीय प्राविधिक मनोज अधिकारी (सुदीप भनेर चिनिने) विरुद्ध अभियोगपत्र दायर गरेको छ।

फिल्मका तर्फबाट नेत्रबहादुर विष्टले अधिकारीविरुद्ध किटानी जाहेरी दिएका हुन्। यस घटनाबारे नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ।

अभियोगपत्रअनुसार अधिकारीले जेठ ३ र ४ गते उक्त फिल्ममा स्पटब्वायका रूपमा काम गरेका थिए। छायांकनका क्रममा उनले गोप्य भिडियो मोबाइलमा रेकर्ड गरी टिकटकमा सार्वजनिक गरेका थिए। चेतावनी पाएपछि भने उनले १० मिनेटभित्रै ती भिडियो टिकटकबाट हटाएका थिए।

प्रतिवादीविरुद्ध विद्युतीय कारोबार ऐन, २०८३ को दफा ४८ को उपदफा (१) बमोजिम गोपनीयता भंग गरेको कसुरमा सजाय माग गरिएको छ। उक्त दफाअनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिबाना, दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech