‘गौँथली’को बक्स अफिसमा दबदबा, १० दिनमै ७ करोड ४२ लाखभन्दा बढीको व्यापार

फिल्मी फण्डा । साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ।


प्रदर्शनको १०औँ दिनसम्म आइपुग्दा ‘गौँथली’ ले ७ करोड ४२ लाखभन्दा बढीको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल फिल्मको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ।


चलचित्र विकास बोर्डको ‘सिनेपा : बक्स अफिस’ प्रणालीका अनुसार साउन १ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले १० दिनको अवधिमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रस कलेक्सन गरेको छ।


प्रदर्शनको दोस्रो सातामा प्रवेशसँगै फिल्म हेर्ने दर्शकको संख्या पनि उत्साहजनक देखिएको छ। १० दिनको अवधिमा देशभरका हलबाट २ लाख ६० हजार २५४ वटा टिकट बिक्री भएको तथ्याङ्कले देखाउँछ। फिल्मले विशेषगरी मल्टिप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शकको उल्लेखनीय साथ पाइरहेको छ।


‘गौँथली’ ले प्रदर्शनको दोस्रो शनिबार मात्रै १ करोड ६५ लाख रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेको थियो, जुन यस वर्ष कुनै पनि नेपाली फिल्मले एकै दिन गरेको सर्वाधिक कमाइ (हाइएस्ट सिंगल डे कलेक्सन) हो।


आइतबार पनि फिल्मको व्यापारिक रफ्तारमा कमी आएन र करिब १ करोड ५० लाख रुपैयाँको ग्रस व्यापार गर्न सफल भयो। फिल्मले आगामी दिनमा अझ ठूलो व्यापारिक उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।


हालसम्मको कमाइका आधारमा ‘गौँथली’ यस वर्षको दोस्रो सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ। ‘लालीबजार’ पहिलो स्थानमा छ। ‘गौँथली’ को वर्तमान व्यापारिक गतिलाई हेर्दा यसै साताभित्र १० करोड रुपैयाँको आँकडा पार गर्दै वर्षकै सर्वाधिक कमाइ गर्ने फिल्म बन्ने सम्भावना बलियो देखिएको छ।


पहिलो दिन औसत अकुपेन्सी देखिएको फिल्मले त्यसपछिका दिनमा हाउसफुलसम्मको यात्रा तय गरेको छ। कलाकारसहितको टिम विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ।

काठमाडौं उपत्यकासहित मोफसलका विभिन्न हलमा पुगेर कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। दर्शकले ‘गौँथली’ लाई मौलिक सिनेमा भन्दै प्रशंसा गरिरहेका छन्। एउटै परिवारका १०–१५ जनासम्मले फिल्म हेर्न हल पुगिरहेको निर्माण पक्षको दाबी छ।

हलमा पुरुषको तुलनामा महिला दर्शकको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ।वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा गीतकार डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको यस फिल्मले उनलाई सफल निर्देशकका रूपमा स्थापित गरेको छ।


‘गौँथली’ को कथावस्तु, प्रस्तुतीकरण र कलाकारहरूको अभिनयलाई दर्शकले रुचाएका कारण नै फिल्मले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको हो।


फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।


डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।


भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मका निर्मातामा सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माता हुन् भने सरला रिजाल कार्यकारी निर्माता हुन्।


गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।


‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि पनि फिल्म निर्माण गरेका थिए। उक्त फिल्मलाई नेपालको पहिलो गीति फिल्म (म्युजिकल फिल्म) मानिन्छ। त्यसबेला ‘गौँथली’ ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो। अहिले सोही नाममा उनका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ फिल्म ‘गौँथली’ निर्देशन गरेका हुन्।


घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको यस फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरिरहेका छन्।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech