फिल्मी फण्डा। डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा बन्ने नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ को घोषणा गरिएको छ।
निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको शीर्षक घोषणा गरेको हो।
सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको ‘द राइज अफ साम्राज्य’ लाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन्। फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन्। को–प्रोड्युसरमा विश्वास बस्नेत (बेन) तथा कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन्।
फिल्मको भव्यतासँगै यसको विषयवस्तुबारे केही संकेत गर्दै निर्देशक सौरभले थिम पोस्टर र शीर्षक सार्वजनिक गरेका हुन्।थिम पोस्टरमा आगोको लप्कासँगै घोडामा सवार व्यक्तिहरू तथा राजसी कालखण्ड झल्काउने पात्रहरू देखिएका छन्।
पोस्टरले द्वन्द्व र विद्रोहको संकेत गर्छ। पोस्टरमा विद्रोहीको शिविरमा आगजनी भएको झल्को देखिए पनि त्यसबारे यकिन गर्न सकिने अवस्था छैन।पोस्टरको माथिल्लो तथा बायाँ भागमा देखिएको रातो कपडा वा झण्डाले क्रान्ति वा रगतको प्रतीकात्मक संकेत गरेको छ।
त्यस्तै, पृष्ठभूमिमा केही व्यक्तिहरूले रामलीला नाटक प्रस्तुत गरिरहेको दृश्य धमिलो रूपमा देखिन्छ, जसले फिल्म कुनै ऐतिहासिक कालखण्ड वा रोचक कथावस्तुमा आधारित हुन सक्ने संकेत गर्छ।
यो फिल्म एक्सन–ड्रामा जनरामा निर्माण हुने बताइएको छ। पछिल्लो समय एक्सन र मेकिङका लागि प्रशंसा बटुलेका निर्देशक सौरभले यसपटक झनै विशाल क्यानभासमा काम गर्न लागेको बुझिएको छ।
कार्यकारी निर्माता शंकर पाण्डेले ‘द राइज अफ साम्राज्य’ नेपाली फिल्म उद्योगकै ठूलो स्केलको एपिक एक्सन–ड्रामा हुने बताए।
“यो फिल्म लाइनअप र मेकिङका हिसाबले नेपाली फिल्म उद्योगकै अहिलेसम्मकै सबैभन्दा ठूलो स्केलको फिल्म हुनेछ,” उनले भने।
निर्माण पक्षले निर्देशक, लेखक, निर्माता र डीओपी सार्वजनिक गरे पनि कलाकारको नाम भने सार्वजनिक गरेको छैन। केही दिनभित्र कलाकारहरूको लाइनअप सार्वजनिक गरिने जनाइएको छ।
भदौको पहिलो सातादेखि छायांकन सुरु गरिने फिल्मको अधिकांश सुटिङ पूर्वी नेपालमा हुनेछ। फिल्मको छायांकन तालिका ७० दिनको रहने निर्माण टिमले जनाएको छ।फिल्मको प्रदर्शन मितिबारे निर्देशक सौरभले हतार नगर्ने बताएका छन्।
उनले भने, “अहिलेलाई हामीले थिम पोस्टर र शीर्षक सार्वजनिक गरेका छौँ। छायांकन सम्पन्न भएपछि पोस्ट–प्रोडक्सनको कामलाई मध्यनजर गर्दै प्रदर्शन मिति तय गर्ने योजना छ। पहिले एउटा राम्रो लाइनअप तयार होस्, त्यसपछि रिलिज डेटबारे सोचौँला।”
मानकृष्ण महर्जन डीओपी रहेको फिल्ममा श्री श्रेष्ठ एक्सन निर्देशक छन्। डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो तथा वितरक डिसीएन रहेको छ।
फिल्मले नेपाली इतिहासको कुनै विशेष कालखण्डलाई समेट्छ वा काल्पनिक ‘साम्राज्य’को कथा भन्छ भन्ने कुरा भने समयसँगै खुल्नेछ। हालका लागि थिम पोस्टरले ‘द राइज अफ साम्राज्य’ लाई वर्षकै बहुप्रतीक्षित फिल्ममध्ये एकका रूपमा स्थापित गरेको छ।