‘दिलमा ठाउँ छ’को क्रेज, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो निर्माण

फिल्मी फण्डा। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको यस वर्षकै प्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ ले डिजिटल प्लेटफर्ममा धमाकेदार सुरुवात गरेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले टिकटक र युट्युब दुवै माध्यममा उल्लेखनीय सफलता हासिल गर्दै नयाँ कीर्तिमान कायम गरेको हो।


नेपाली कला तथा फिल्म उद्योगमा दुर्लभ मानिने सफलता हासिल गर्दै गीत सार्वजनिक भएको ४८ घण्टा नबित्दै टिकटकमा यस गीतमा आधारित ५० हजारभन्दा बढी भिडियो बनिसकेका छन्।
यति छोटो अवधिमै यस स्तरमा भाइरल हुनुले गीतको लोकप्रियता व्यापक रूपमा फैलिएको पुष्टि गर्छ। टिकटकसँगै ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको भिडियोले ६ लाखभन्दा बढी भ्युज पार गरिसकेको छ भने यसको हेराइको दर अझै तीव्र गतिमा बढिरहेको छ।


लोक फ्लेभरमा तयार पारिएको यो गीत यतिबेला हरेक पुस्ताका दर्शक तथा स्रोताको रोजाइमा परेको छ। टिकटकमा सर्वसाधारणदेखि स्थापित सेलिब्रेटीहरूसम्मले यसको हुक स्टेपमा भिडियो बनाइरहेका छन्। छोटो समयमै लाखौँ दर्शकमाझ पुग्नु र टिकटकमा हजारौँ भिडियो निर्माण हुनुले फिल्मप्रति बलियो हाइप सिर्जना गरेको छ।

पोस्टर र पहिलो गीतले नै बजारमा व्यापक चर्चा पाएपछि फिल्मको व्यापारिक तथा समीक्षात्मक यात्राप्रति सकारात्मक अनुमान गर्न थालिएको छ।
फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यस गीतमा लोकप्रिय गायिका अञ्जु पन्तसँगै चर्चित गायक प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ।


गीतको भिडियोमा मुख्य कलाकार पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङको आकर्षक नृत्य रहेको छ भने कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन्। विशेषगरी भिडियोमा पारस र दिव्या बेहुला–बेहुलीको आकर्षक भेषमा देखिएका छन्, जसले फिल्मको मुख्य विषयवस्तु विवाह र त्यसको सेरोफेरोमा केन्द्रित रहेको स्पष्ट संकेत गर्छ।

 

भिडियोमा अभिनेता सुशान्त कार्की र पदम तामाङको 'सरप्राइज इन्ट्री' पनि रहेको छ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस फिल्ममा पारस, दिव्या, सुशान्त र पदमसँगै सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन् भने प्रताप शमशेर राणा निर्माता रहेका छन्। कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्। कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।


फिल्ममा नरेन्द्र मैनालीको डीओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ। सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेका छन् भने योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना सहायक निर्देशक हुन्। यमप्रसाद ओली प्रोडक्सन हेड रहेको यस फिल्ममा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन रहेको छ।


फिल्मको काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech