फिल्मी फण्डा । निर्देशक सञ्जय राईको डेब्यु निर्देशनमा बन्ने नेपाली फिल्म ‘एक्का मिस्सी बादशाह’ औपचारिक रूपमा घोषणा गरिएको छ। शनिबार निर्देशक राईको जन्मदिनको अवसर पारेर फिल्मीफन्डामा आयोजित कार्यक्रममा निर्माण टिमले कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै फिल्मको निर्माण यात्रा सुरु भएको जानकारी दिएको हो।
मोहिनीदेवी राईको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहनेछिन्। ‘आश’ पात्रमा देखिन लागेकी सम्राज्ञीले आफूलाई फरक, साहसी र चुनौतीपूर्ण भूमिका मन परेकै कारण यो परियोजनामा आबद्ध भएको बताइन्।
निर्देशक सञ्जय राईले फिल्म अहिलेको युवापुस्ताको जीवन, प्रेम, सम्बन्ध र सामाजिक सञ्जालले सिर्जना गरेका परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिने जानकारी दिए। उनका अनुसार यो दुई साथीको जीवनयात्रा, उनीहरूले भोग्ने उतारचढाव र समाज–परिवारको अपेक्षाबीचको संघर्षमा आधारित कथा हुनेछ।
‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ ट्यागलाइन रहेको फिल्मको छायांकन आगामी फागुनदेखि सुरु गर्ने तयारी गरिएको छ।
फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निकेश कार्की र रोमन बज्राचार्यको संगीत, सुनिल शिवभक्तिको सम्पादन रहनेछ। निर्माण पक्षले ‘क्रिश’ र ‘अर्जुन’ नामका दुई मुख्य पुरुष पात्रका लागि खुला अडिसन आह्वान गरिएको समेत जनाएको छ।