क्यानडामा आज ‘तेस्रो नेपाल फेस्टिभल–२०२६’, खेम सेन्चुरीसहित कलाकारको प्रस्तुति

 

फिल्मी फण्डा। क्यानडाको ब्राम्पटनमा शनिबार ‘तेस्रो नेपाल फेस्टिभल–२०२६’ आयोजना हुँदैछ। लालीगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबको आयोजनामा हुने महोत्सवमा नेपाली कला, संस्कृति, संगीत, भेषभूषा, परिकार, हस्तकला र स्वदेशी उत्पादनको प्रवर्द्धन गरिने आयोजकले जनाएको छ।

 

ब्राम्पटनस्थित सुपर वर्ल्ड कम्प्लेक्समा दिउँसो १ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने महोत्सवमा नेपाली खानाका परिकारसहित ३० भन्दा बढी व्यावसायिक र सामाजिक स्टल रहनेछन्। गुरुङ, तामाङ, शेर्पा, नेवार, थारू, मधेसीलगायत समुदायका सांस्कृतिक झाँकी, नृत्य र लाखे नाच पनि प्रस्तुत गरिनेछ।

 

आयोजकका अनुसार महोत्सवमा प्रवेश र पार्किङ निःशुल्क हुनेछ। करिब १० हजार दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ। महोत्सवको उद्घाटन क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलले गर्ने कार्यक्रम छ। कार्यक्रममा क्यानडाका सिटिजन्स तथा मल्टिकल्चरल मन्त्री ग्राहम म्याकग्रेगर, संघीय सांसद सोनिया सिद्धुलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहने जनाइएको छ।

 

महोत्सवमा लोकगायक खेम सेन्चुरीको विशेष सांगीतिक प्रस्तुति रहनेछ। उनीसँगै चेतन सापकोटा, देविका केसी, मानसिंह खड्का, अर्जुन कुमार, बिन्दा परियार, आशीर्वाद सुवेदीलगायत कलाकारले पनि प्रस्तुति दिने आयोजकले जनाएको छ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech