फिल्मी फण्डा । आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्म ‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर छ। गीतको भिडियोमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ फिचर्ड छन् भने कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन्।
कार्यक्रममा निर्माता तथा संगीतकार अर्जुन पोखरेलले गीत फिल्मको प्रचारप्रसारका लागि फरक शैलीमा तयार पारिएको बताए। गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
सशान कँडेल निर्देशित फिल्मको कथा तथा पटकथा माधव शर्माले लेखेका हुन्। फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायत कलाकारको अभिनय रहेको छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेनमेन्टको संयुक्त प्रस्तुति रहेको फिल्मका निर्माता प्रताप शमशेर राणा हुन्। फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्।