नेपालपछि अमेरिकाका २६ राज्यमा रिलिज हुँदै ‘गौंथली’

फिल्मी फण्डा। नेपालमा प्रदर्शनरत नेपाली चलचित्र ‘गौंथली’ शुक्रबार (२४ जुलाई)देखि अमेरिकाभर प्रदर्शनमा आउने भएको छ। वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलका अनुसार फिल्म अमेरिकाका २६ राज्यका ५६ सहरमा पहिलो सातामै १ हजारभन्दा बढी शोसहित प्रदर्शन हुनेछ।


प्रदर्शनअघि बिहीबार अमेरिकाका तीन सहरमा विशेष प्रिमियर शो आयोजना गरिनेछ। डलासको फोर्ट वर्थस्थित सिनेपोलिस लक्जरी सिनेमाज, पेन्सिलभेनियाको ह्यारिसबर्गस्थित रिगल थिएटर र ओहायोको कोलम्बसस्थित मार्कस थिएटरमा दर्शकले फिल्म हेर्न पाउनेछन्।


शुक्रबारदेखि टेक्सासका ९, ओहायोका ७, क्यालिफोर्नियाका ४, न्युयोर्कका ४, आयोवाका ३ तथा पेन्सिलभेनियाका ३ हलमा फिल्म प्रदर्शन हुनेछ। साथै एरिजोना, कोलोराडो, केन्टकी, मिजौरी, भर्जिनिया, वासिङ्टन डीसी तथा अन्य २० राज्यका हलहरूमा पनि नियमित प्रदर्शन हुने जनाइएको छ।


कपिल रिजाल निर्देशित फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य भूमिका छ। मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संजोग रसाइली, सीतादेवी तिमल्सिना, लक्ष्मीनाथ तिमल्सिना, राजेन्द्र नेपाली, अंशु ओली र प्रिन्स नेपालीको पनि अभिनय रहेको छ।


वरिष्ठ चिकित्सक भोला रिजालको कथा तथा उनकी पत्नी सरला रिजालको वास्तविक जीवन संघर्षबाट प्रेरित फिल्म शिक्षा, महिला सशक्तीकरण र संवेदनशील प्रेमकथामा आधारित छ। चलचित्रले सानै उमेरमा विवाह भए पनि शिक्षाप्रतिको दृढ संकल्प नछाड्ने ग्रामीण युवती र अटिजम स्पेक्ट्रममा रहेका एक युवकबीचको भावनात्मक सम्बन्धलाई मार्मिक रूपमा चित्रण गरेको छ।


वितरण कम्पनीका अनुसार फिल्मको टिकट कम्पनीको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत पनि खरिद गर्न सकिनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech