सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ निर्माण हुँदै

फिल्मी फण्डा। निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ। एक्सन–एड्भेन्चर विधामा बन्न लागेको फिल्म रहस्य र अलौकिक कल्पनामा आधारित रहने निर्माण पक्षले जनाएको छ। फरक स्वाद, भव्य दृश्य प्रस्तुति र उच्चस्तरीय निर्माण शैलीमार्फत नेपाली फिल्म उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यसहित फिल्म निर्माण गर्न लागिएको हो।

फिल्मको निर्देशन सञ्चारकर्मीसमेत रहेका सुव्रत आचार्यले गर्नेछन्। फिल्मको कथा सीता मायाले परिकल्पना गरेकी हुन्। उनी नै फिल्मकी प्रस्तुतकर्ता पनि हुन्। दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताको भूमिकामा रहनेछन् भने चर्चित छायाकार हरि हुमागाई डीओपी (डाइरेक्टर अफ फोटोग्राफी) रहनेछन्।

फिल्मको मूल भाषा नेपाली हुनेछ। अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यले यसलाई मलयालम र हिन्दी भाषामा पनि डब गरिने निर्माण पक्षले जनाएको छ। फिल्मका परिकल्पनाकार तथा मुख्य अभिनेता भारतको मलयालम फिल्म उद्योगसँग आबद्ध रहेका छन्। मुख्य अभिनेताको परिचय भने फिल्मको आधिकारिक फर्स्ट लुक सार्वजनिक गर्ने क्रममा खुलाइने जनाइएको छ।

निर्देशक आचार्यका अनुसार फिल्ममा मलयालम फिल्म उद्योगका केही कलाकार र प्राविधिकको समेत सहभागिता रहनेछ। फिल्मको पटकथालाई नेपाली परिवेशअनुकूल संवादमा रूपान्तरण तथा परिमार्जन गर्ने काम लेखक शान बस्नेतले गरिरहेका छन्।

फिल्मको छायांकन यसै वर्षको फागुन–चैतदेखि सुरु गर्ने तयारी गरिएको छ। निर्माण पक्षका अनुसार अधिकांश प्रमुख भूमिकामा नेपाली कलाकारको अभिनय रहनेछ भने छायांकन टोलीसहित अधिकांश प्राविधिक पनि नेपाली फिल्म उद्योगकै हुनेछन्। फिल्मका गीत–संगीत पनि नेपाली सर्जकले नै तयार गर्नेछन्।

करिब चार करोड रुपैयाँको अनुमानित लागतमा निर्माण हुन लागेको ‘हजारौँमा एक’ लाई नेपाली फिल्म उद्योगको महत्त्वाकांक्षी परियोजनाका रूपमा हेरिएको छ। अलौकिक कल्पना, साहसिक यात्रा, एक्सन र आधुनिक फिल्म प्रविधिको संयोजनमा निर्माण हुने फिल्मको छायांकन नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा गरिनेछ। स्वदेशीसँगै अन्तर्राष्ट्रिय दर्शकलाई समेत आकर्षित गर्ने अपेक्षा निर्माण पक्षले गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech