निर्माता जनक घर्ती मगरले गरे नयाँ फिल्म ‘आकाश वर्षा’ घोषणा

फिल्मी फण्डा । निर्माता जनक घर्ती मगर ले आफ्नो नयाँ फिल्म ‘आकाश वर्षा’ को औपचारिक घोषणा गरेका छन्। टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै उनले नयाँ फिल्म निर्माणको जानकारी दिएका हुन्। फिल्म ‘मितज्यू’ प्रदर्शनमा आएको केही समयमै उनले नयाँ परियोजनाको घोषणा गरेका हुन्।

जीएम मुभी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुने ‘आकाश वर्षा’ को निर्देशन सुदीप भजु ले गर्नेछन्। सार्वजनिक गरिएको टाइटल पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको दृश्य, बादल र पहाडी परिवेशलाई समेटिएको छ, जसले फिल्मको भावनात्मक परिवेशको संकेत गरेको छ।

निर्माता जनक घर्ती मगरका अनुसार फिल्म विशुद्ध प्रेमकथामा आधारित हुनेछ। “हाम्रो यो फिल्म विशुद्ध लभ स्टोरी जनरामा बन्नेछ,” उनले बताएका छन्।

फिल्मका कलाकार तथा अन्य प्राविधिक टिमबारे भने निर्माण पक्षले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन। निर्माता जनक घर्ती मगरको परिकल्पनामा बन्न लागेको फिल्मको कथा तथा पटकथा अमीर मगर ले लेखेका छन्।

पछिल्लो समय नेपाली फिल्म उद्योगमा प्रेमकथामा आधारित फिल्मको निर्माण तुलनात्मक रूपमा कम भइरहेका बेला ‘आकाश वर्षा’ यही विधामा निर्माण हुन लागेको हो। यसअघि जनक घर्ती मगरले निर्माण गरेका ‘घरज्वाइँ’ र ‘मितज्यू’ सामाजिक कथावस्तुमा आधारित फिल्म हुन्। ‘घरज्वाइँ’ व्यावसायिक रूपमा सफल बनेको थियो भने ‘मितज्यू’ ले समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो।

यसैबीच, फिल्म ‘आकाश वर्षा’ को देशव्यापी वितरणको जिम्मेवारी आरआर फिल्म्स ले लिएको छ। वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ को नेतृत्वमा रहेको आरआर फिल्म्सले फिल्मलाई देशभर प्रदर्शन गर्नेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech