प्रदर्शनअघि नै ‘गौँथली’प्रति उत्साह, देशभर २ सयभन्दा बढी शो पाउने अपेक्षा

फिल्मी फण्डा । यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’ प्रति दर्शकको उत्साह बढ्दै गएको छ। प्रदर्शनको केही दिनअघि नै राजधानीदेखि मोफसलसम्मका अधिकांश मल्टिप्लेक्स तथा सिंगल स्क्रिन हलहरूले अग्रिम टिकट बुकिङ खुला गरेका छन्।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स ले शुक्रबारका लागि शो सार्वजनिक गर्दै बुकिङ सुरु गरिसकेको छ। दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआई, वान सिनेमाज लगायतका प्रमुख हलहरूले पनि फिल्मका लागि शो खुलाइसकेका छन्। अन्य हलहरूमा पनि क्रमशः शो थपिने प्रक्रिया जारी छ।

फिल्मका वितरक करण श्रेष्ठ ‘क्रेजी’ का अनुसार देशभरका हलबाट शो थपिने क्रम अझै जारी रहेकाले बुधबारसम्म ‘गौँथली’ले २ सयभन्दा बढी शो प्राप्त गर्ने अपेक्षा गरिएको छ।

‘अहिले पनि विभिन्न हलसँग छलफल भइरहेको छ। शो थपिने क्रम जारी छ र भोलिसम्ममा देशभरबाट २ सयभन्दा बढी शो प्राप्त हुनेमा हामी विश्वस्त छौं,’ श्रेष्ठले भने।

प्रदर्शनअघि आयोजित प्रिमियरमा फिल्मले निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्माण टिमको दाबी छ। फिल्मको कथा, अभिनय, प्रस्तुतिशैली तथा भावनात्मक पक्षको खुलेर प्रशंसा भएपछि निर्माण पक्ष बक्स अफिसमा पनि यसको सकारात्मक प्रभाव देखिनेमा आशावादी बनेको छ।

निर्देशक डा. कपिल रिजाल को निर्देशनमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपाली को अभिनय रहेको छ। बाल कलाकार अंशु ओली र प्रिन्स नेपाली ले पनि चलचित्रमा महत्वपूर्ण भूमिका निभाएका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सन को प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन्।

डा. भोला रिजाल को कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजालले निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरे सँगको सहकार्यमा तयार गरेका हुन्। मुख्य सहायक निर्देशक गिरिराज घिमिरे रहेको फिल्ममा हरि हुमागाईं को छायांकन र मिलन श्रेष्ठ को सम्पादन रहेको छ।

फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनी ले संयुक्त रूपमा गर्दैछन् भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ।

प्रिमियरबाट प्राप्त सकारात्मक प्रतिक्रिया, बढ्दो अग्रिम बुकिङ र देशभर विस्तार हुँदै गएको शो सङ्ख्याले ‘गौँथली’प्रति दर्शकको चासो उच्च रहेको संकेत गरेको छ। अब यो उत्साह बक्स अफिसमा कत्तिको रूपान्तरण हुन्छ भन्ने प्रतीक्षा शुक्रबारदेखि समाप्त हुनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech