‘सुख दुःख’ फिल्ममा विपना थापा र नीता ढुङ्गानाको दोस्रो सहकार्य

फिल्मी फण्डा। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्ने फिल्म ‘सुख दुःख’ मा अभिनेत्री विपना थापा अनुबन्धित भएकी छन् । निर्माण टिमले बुधबार उनलाई अनुबन्ध गरेको हो ।

यसअघि नीता र विपनाले ‘ह्रस्वदीर्घ’ फिल्ममा सहकार्य गरेका थिए । अब ‘सुख दुःख’ मा उनीहरूको दोस्रो सहकार्य हुने भएको छ । फिल्ममा जोडिन पाउँदा खुसी लागेको बताउँदै विपनाले कथाले आफूलाई भावुक बनाएको तथा निर्देशक नीतासँग पुनः सहकार्य गर्न पाउँदा उत्साहित भएको उल्लेख गरेकी छन् ।

निर्देशक ढुङ्गानाले पनि फिल्ममा विपनाको उपस्थिति महत्वपूर्ण रहेको जनाउँदै उनलाई अनुबन्ध गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन् । यसअघि नीताले कलाकारका रूपमा मिथिला शर्मा तथा मदनकृष्ण श्रेष्ठलाई अनुबन्ध गरिसकेकी छन् । अन्य कलाकार तथा प्राविधिक पक्षसम्बन्धी जानकारी क्रमशः सार्वजनिक गरिने निर्देशक अधिकारीले जानकारी दिइन् ।

नीता फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको उक्त फिल्म आगामी फागुन महिनाबाट छायाङ्कनमा प्रवेश गर्नेछ । फिल्मको छायाङ्कन भारतका चर्चित छायाँकार कवीरलाल तथा शाहिदलालले गर्ने तय भएको छ । आगामी वर्षको दशैँको फूलपातीका अवसरमा फिल्म प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।

फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech