फिल्मी फण्डा। फिल्म ‘क्याप्टेन साब’को छायांकन राजधानीको तीनकुनेमा विशेष सेट निर्माण गरी सुरु गरिएको छ। विशेषगरी वि.सं. २०३० र ४० को दशकको काठमाडौंलाई पुनर्जीवित गर्ने उद्देश्यले बनाइएको सेटमा अहिले धमाधम सुटिङ भइरहेको छ।
तीनकुनेमा निर्माण गरिएको उक्त सेटमा पुरानो शैलीका सेता घरहरू, सडकमा गुड्ने पुराना गाडीहरू, खर्पन र डोको बोकेका नेवार व्यापारीहरू तथा त्यस समयमा प्रचलित लुगाफाटा देख्न सकिन्छ। निर्माण टोलीले त्यस युगको मुड दिन यथार्थपरक वातावरण तयार पारेको छ।
“हामी ३०/४० को दशकको काठमाडौं देखाउन खोजिरहेका छौं। सहरभित्र त्यस्तो माहोल सिर्जना गर्न असम्भव त थियो, तर हामीले रंग, कस्ट्युम र डिजाइनमार्फत त्यो अनुभूति दिने प्रयास गरेका छौं,” निर्देशक दीपेन्द्र के. खनालले भने, “सस्तो देखिने चिट शैली होइन, वास्तविकता झल्काउने दृश्य तयार गरेका छौं।”
उनका अनुसार फिल्मको कथा जुन कालखण्डमा आधारित छ, त्यसै अनुरूपको दृश्य सिर्जना गरिएको हो। “हाम्रो बजेट सीमित भए पनि शिल्प र मेहनतमा कुनै कसर बाँकी राखेका छैनौं,” उनले थपे।
‘क्याप्टेन साब’को छायांकन साउन १० गतेदेखि सुरु भइसकेको छ। काठमाडौंपछि काभ्रेको धुमखर्क, बेथानचोक, चितवन र वीरगञ्जमा छायांकन हुने योजना रहेको छ।
फिल्म क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित बायोपिक हो। पाइलट, सञ्चार उद्यमी र व्यवसायीको रूपमा परिचित थापाको प्रेरणादायी जीवनयात्रा फिल्ममार्फत प्रस्तुत गरिनेछ।
फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइलीले मुख्य भूमिका निर्वाह गर्दैछन्। निर्देशन दीपेन्द्र के. खनालको रहेको फिल्ममा करण श्रेष्ठ र श्रृष्टिमा खनाल निर्माताका रूपमा छन् भने सिर्जना नापित कार्यकारी निर्माता हुन्।