फिल्मी फण्डा। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, जापानको १२औं राष्ट्रिय महाधिवेशन भर्चुअल भोटिङमार्फत सम्पन्न भएको छ। निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सुभाष लामिछाने ७ हजार १ सय ५२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी सिद्धार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत पाए।
सुभाष लामिछाने नेपाली चलचित्र निर्माता समेत हुन्। उनले सायद २ र लाउरे नामक चलचित्रमा लगानी गरेका छन्। साथै, जापानमा नेपाली चलचित्र प्रदर्शन गराउने र विभिन्न नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गर्ने क्रममा लामिछाने सक्रिय रहँदै आएका कारण जापानबासी नेपालीबीच लोकप्रिय छन्।
निर्वाचन समितिका अनुसार एनआरएन जापानको कुल मतदाता संख्या १८ हजार ३ सय १४ रहेकोमा १२ हजार ३ सय ४५ (६७.४१ प्रतिशत) मत खसेको थियो।
वरिष्ठ उपाध्यक्षमा ६ हजार ४ सय १८ मत प्राप्त गरी टिकाराम खरेल विजयी भए भने उनका प्रतिद्वन्द्वी कृष्ण गैरे शर्माले ५ हजार ९ सय २७ मत पाए।
क्षेत्रीय उपाध्यक्षमा विष्णुप्रसाद सुबेदी (विश्व) ६ हजार ९ सय ८३ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी हरिप्रसाद कँडेलले ५ हजार ३ सय ६२ मत पाए।
खुला उपाध्यक्षमा क्रमशः मुक्तिराम खनाल (बिनोद) ८ हजार ७ सय २, दिलिप कँडेल ६ हजार ९ सय ४९ र दिपक सुनार ६ हजार १ सय १ मत प्राप्त गर्दै विजयी भए। अन्य उम्मेदवार नारायण सुबेदीले ५ हजार ९ सय २८, दिपेश खत्री (केसी) ले ५ हजार ७ सय ८३ र रुद्र मल्ल (मनोज) ले ३ हजार ५ सय ७२ मत प्राप्त गरे।
महासचिवमा श्यामकुमार श्रेष्ठ (श्याम शितल) ६ हजार ३ सय ८४ मत पाउँदै विजयी भए। उनका प्रतिद्वन्द्वी विश्वास गौतम (खगराज) ले ५ हजार ९ सय ६१ मत पाए।