फिल्मी फण्डा। नेपाली चलचित्र ‘जेरी: अन टप’ का तीन पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरहरूमा प्रेम, साहसिकता र युवाको आत्म–यात्रालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ।

निर्माता सरोज न्यौपानेको निर्माणमा तयार भएको उक्त चलचित्रको निर्देशन सुयोग गुरुङले गरेका हुन्। चलचित्र यही असोज ३१ गते (१७ अक्टोबर) देखि देशभर प्रदर्शनमा आउने भएको छ।

प्रथम पोस्टरमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा प्रेमिल भावमा प्रस्तुत छन्। दोस्रो पोस्टरमा अनमोल र जसिता गुरुङबीचको रमाइलो सम्बन्ध देखाइएको छ भने तेस्रो पोस्टरमा हिमाली क्षेत्रको आरोहण यात्रा र चुनौती दर्शाइएको छ।

फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गी, केदार घिमिरे, सुष्मा निरौला र सुरक्षा पन्तलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको कथा हेमराज बीसीले लेखेका हुन्।
करिब ६ करोड रुपैयाँ लागतमा निर्माण गरिएको चलचित्रको अधिकांश छायांकन मुस्ताङ, लुक्ला र काठमाडौंमा गरिएको हो। तिहार पर्वलाई लक्षित गर्दै प्रदर्शन मिति तय गरिएको फिल्ममा युवा पुस्ताको भावना, प्रेम र जीवनको उद्देश्यबारे खोज प्रस्तुत गरिएको छ।