श्रावणमा तीन फिल्म भिड्दै: ‘रियाल रिङ्गेट’, ‘सिटामोल’ र ‘मोहर’ कुनले मार्ला बाजी?

दिपेश रोक्का / फिल्मी फण्डा । नेपाली फिल्म बजारमा श्रावण महिना विशेष बनाउने तयारीमा छन् तीन फरक कथावस्तुमा आधारित चलचित्रहरू। वैदेशिक रोजगारी, ग्रामीण समाजको भावना र देउकी प्रथाजस्ता विषय उठान गर्ने यी तीन चलचित्र क्रमशः श्रावण १६ र २३ गते देशभर प्रदर्शनमा आउँदैछन्।

श्रावण १६ गते प्रदर्शनमा आउने चलचित्र ‘रियाल रिङ्गेट’ हो। विभुर पोखरेलको निर्देशनमा बनेको यो चलचित्रले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा, संघर्ष र सपनाको कथा बोल्छ। चलचित्रमा निता ढुङ्गाना, प्रमोद चौलागाईं, ध्रुव कोइराला, छुल्ठिम गुरुङ, प्रेम सुब्बा, रामचन्द्र अधिकारी र रियर राईको अभिनय छ। निर्देशक पोखरेलका अनुसार, “फिल्मले प्रवासमा पसिना बगाउने लाखौँ नेपाली युवाको जीवन झल्काउने प्रयास गरेको छ।”

त्यसपछि, श्रावण २३ गते दुई चलचित्र ‘सिटामोल’ र ‘मोहर’ एकैसाथ प्रदर्शनमा आउँदैछन्।
‘सिटामोल’ निर्देशक राज बहादुर सानेको निर्देशनमा बनेको हो, जसले गाउँमा हुर्किएका पात्रहरूको भावना, सम्बन्ध र द्वन्द्वलाई समेटेको छ। चलचित्रमा सौगात मल्ल, वेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखकको भूमिका रहेको छ।
यसैदिन आउन लागेको अर्को चलचित्र ‘मोहर’ मा निर्देशक ओम प्रतीक गुरुङले समाजमा अझै कतै कतै जीवित रहेको देउकी प्रथाको कथालाई चित्रण गरेका छन्। पल शाह, वेनिशा हमाल र नीति शाह मुख्य भूमिकामा छन्। ‘मोहर’ले परम्परागत प्रथाको आलोचना गर्दै दर्शकको चेतनामा प्रभाव पार्ने उद्देश्य लिएको छ।

तीनै चलचित्र फरक विषयवस्तु, प्रस्तुति र कलाकारका कारण छुट्टाछुट्टै स्वाद बोकेका छन्। ‘रियाल रिङ्गेट’ले युवाको सपना र सङ्घर्ष देखाउँछ, ‘सिटामोल’ले गाउँको संवेदना सुनाउँछ भने ‘मोहर’ले सामाजिक विकृतिमाथि चोट गर्छ।

अब हेर्न बाँकी छ—श्रावणको फिल्मी भिडन्तमा कुन फिल्मले दर्शकको मन जित्नेछ र बक्स अफिसमा शिर्षस्थान ओगट्नेछ?

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech