फिल्मी फण्डा । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा तयार भएको नेपाली सिनेमा ‘जलाकी’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार ‘कलेजीको छेऊ’ बोलको गीत सार्वजनिक गरेको हो ।
प्रेमी–प्रेमिकाबीचको प्रेम, आकर्षण र आत्मीयतालाई केन्द्रमा राखिएको गीतमा उपासना सिंह ठकुरी र सोनम तोप्देनको जोडीलाई प्रस्तुत गरिएको छ । गीतको भिडियोमा उपासना र सोनमको केमेस्ट्री आकर्षक देखिन्छ । उनीहरूको भावभंगीमा प्रेमको मिठाससँगै मौलिक नेपाली परिवेशको झल्को समेत देख्न सकिन्छ ।
गीतमा सुरेन्द्र रानाको शब्द रचना तथा एसडी योगीको संगीत निर्देशन रहेको छ । एसडी योगीले नै गीतको मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । एसडी र गीताञ्जली थापा मगरको स्वर रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ ।
गीतलाई मौलिक स्वाद दिन विभिन्न लोकवाद्यको प्रयोग गरिएको छ । बाँसुरीमा रत्न बीक, मादल तथा खैँजडीमा मदन रेग्मी, पञ्चेबाजामा शिशिर परियार र सारङ्गीमा हेमन्त कान्छा रसाइलीले साथ दिएका छन् । गीतको रेकर्डिङ तथा मिक्सिङ सुपरभिजन सागर खड्काले गरेका हुन् ।
गीतको भिडियोमा उपासना र सोनमसँगै खड्क बहादुर पुन (खबपु) लगायतका कलाकार देखिएका छन् । भिडियोमा कलाकारहरूको पहिरन, हाउभाउ र प्रस्तुतिले गीतको भावलाई अझ जीवन्त बनाएको छ ।
‘जलाकी’को यो तेस्रो गीत हो । यसअघि निर्माण टिमले ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीत सार्वजनिक गरिसकेको छ । ती दुवै गीतले युट्युबसँगै टिकटक लगायतका सामाजिक सञ्जालमा दर्शक तथा स्रोताको राम्रो प्रतिक्रिया पाएका छन् । नयाँ गीतले पनि सोही किसिमको माया पाउनेमा निर्माण पक्ष विश्वस्त छ ।
‘जलाकी’ केवल प्रेमकथामा सीमित सिनेमा नभई मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, आस्था र भावनालाई पर्दामा प्रस्तुत गर्ने प्रयासका रूपमा निर्माण गरिएको निर्देशक अशोक थापा मगरले बताएका छन् ।
‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । यही सांस्कृतिक प्रतीकलाई कथाको केन्द्रमा राख्दै निर्देशक मगरले मौलिक नेपाली समाज र समुदायको भावनालाई सिनेमामा प्रस्तुत गरेका छन् ।
सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिन लगायतका कलाकारको अभिनय छ ।
विशेष भूमिकामा क्याप्टेन विजय लामा रहेका छन् । बालकलाकारतर्फ मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यसै सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली फिल्ममा डेब्यु गरेकी छन् ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ । ‘जलाकी’ आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउनेछ ।