फिल्मी फण्डा। सुपरहिट नेपाली चलचित्र शृङ्खला ‘कबड्डी’का निर्देशक रामबाबु गुरुङले दर्शकसम्म पुग्ने गरी चलचित्रको प्रचार शैली अपनाउने बताएका छन्। चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको ‘नेपाली फिल्मको बजार र प्रचार शैली’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले चलचित्रको विषयवस्तु र लक्षित दर्शकअनुसार प्रचार गर्नुपर्ने धारणा राखेका हुन्।
गुरुङले सञ्चारमाध्यममार्फत चलचित्रको प्रचार गर्ने, प्रचार सामग्री ल्याउने र दर्शकलाई फिल्मबारे जानकारी दिने शैली अपनाउँदै आएको बताए। आफ्नो चलचित्र दर्शकसम्म पुग्ने जुनसुकै प्रभावकारी माध्यम भए पनि त्यसलाई प्रयोग गर्न आफू तयार रहेको उनको भनाइ छ।
पछिल्लो समय सामाजिक सञ्जालमा कन्टेन्ट बुस्ट गर्ने र टिकट किन्ने विषयमा समेत चर्चा हुने गरेको सन्दर्भमा गुरुङले आफ्नो चलचित्र बजारमा जसरी बिक्री हुन्छ, सोहीअनुसार प्रचार गरिएको हुन सक्ने बताए। आफूले स्वाभाविक रूपमा चलचित्रको प्रचार गर्ने तर अनावश्यक तडकभडक र आफूलाई जानकारी नभएका प्रचार शैलीमा नलाग्ने उनले स्पष्ट पारे।
‘मलाई खासै बोल्न आउँदैन। बजारमा कसले के गरिरहेको छ भन्नेबारे पनि धेरै जानकारी छैन,’ उनले भने, ‘म सञ्चारमाध्यममार्फत चलचित्रको प्रचार गरिरहेको छु। अरूले गर्ने सबै प्रचार शैली आफूले गर्नुपर्छ भन्ने छैन।’
चलचित्र निर्माण गर्नु आफ्नो काम भएको उल्लेख गर्दै उनले दर्शकले राम्रो चलचित्र हेर्ने विश्वास व्यक्त गरे। ‘फिल्म बनाउने काम हाम्रो हो, राम्रो फिल्म दर्शकले हेर्नुहुन्छ। फिल्म पनि आफैँ बनाउने अनि टिकट पनि आफैँले काट्ने भन्ने हुँदैन,’ उनले भने। ‘कबड्डी ५’को प्रचार र टिकट बिक्रीका विषयमा आफूलाई अनावश्यक चिन्ता नरहेको उनको भनाइ थियो।
दशैंको अवसरमा दर्शकले आफूलाई मन परेको चलचित्र छानेर हेर्न पाउने वातावरण हुनुपर्ने गुरुङले बताए। अन्य चलचित्रसँग अनावश्यक प्रतिस्पर्धा गर्ने उद्देश्य नराखी एक सातापछि आफ्नो चलचित्र प्रदर्शन गर्न लागिएको उल्लेख गर्दै उनले दर्शकले ‘कबड्डी ५’लाई साथ दिने विश्वास व्यक्त गरे।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउँदै छ। चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, मिरुना मगर, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन्। त्यस्तै, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्माता छन् भने सागर राज कार्यकारी निर्माता हुन्। चलचित्रको संगीत कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूले तयार पारेका छन्। छायांकन सञ्जय लामाले गरेका छन् भने सम्पादन सुरेन्द्र पौडेलको छ। मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन्। चलचित्रलाई नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले वितरण गर्दैछन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज इन्टरनेसनलले लिएको छ।
‘कबड्डी’का अघिल्ला चारवटै शृङ्खलामा दर्शकले दिएको साथका कारण पाँचौँ भागप्रति पनि आफू र आफ्नो टोली विश्वस्त रहेको गुरुङले बताए। दर्शकले अन्य चलचित्र हेरिसकेपछि पनि ‘कबड्डी ५’ हेर्न हलसम्म आउने विश्वास व्यक्त गर्दै उनले यसपटक पनि दर्शकको अभूतपूर्व साथ पाउने अपेक्षा राखेका छन्।