‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ विभिन्न विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बज्रेश खनालले उद्घाटन गरेसँगै जमलस्थित नाचघरमा सुरु भएको समारोहमा विभिन्न अतिथि, फिल्मकर्मी तथा कलाकारले विजेतालाई अवार्ड प्रदान गरेका थिए।
समारोहमा सर्वोत्कृष्ट आधुनिक गीतकारको अवार्ड ‘कति रोए’बाट मीरा तामाङले प्राप्त गरिन्। आधुनिक गीत संगीतकारको अवार्ड ‘हिजो आज’बाट डा. निरञ्जन भण्डारी, आधुनिक गीत गायकको अवार्ड ‘ढाँटेको हैन’बाट तिलक बस्नेत र आधुनिक गीत गायिकाको अवार्ड ‘ढाँटेको हैन’बाट मेलिना राईले जिते।
त्यस्तै, सर्वोत्कृष्ट म्युजिक भिडियो पुरुष मोडलको अवार्ड ‘सगरै तरेर’बाट एस राज गराचले प्राप्त गरे भने यही विधाको जुरी अवार्ड ‘मायालुको घुर्की प्यारो’बाट रोशन तामाङले जिते। पप गीतको म्युजिक भिडियो पुरुष मोडलको अवार्ड ‘ह्याभ यु एभर सिन’बाट जीवन विश्वकर्मा र म्युजिक भिडियो महिला मोडलको अवार्ड ‘भमरा’बाट शीतल तामाङले प्राप्त गरिन्। सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड ‘गाउँघरे माया’बाट दीप गुरुङले जित्दा जुरी अवार्ड ‘दिउँला चिनो’बाट मिलन श्रेष्ठले प्राप्त गरे।
लोकदोहोरी विधातर्फ सर्वोत्कृष्ट गायकको अवार्ड ‘लालीगुराँस फुलेको’बाट रवि रानाले प्राप्त गरे। यही विधाको जुरी अवार्ड ‘कलेजो खाइ झानो’बाट महादेव भट्टले जिते। सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड ‘फूलको थुँगा’बाट दुर्गा गुरुङ, जुरी अवार्ड ‘सुन्ने भयो’बाट संगीता गुरुङ र पब्लिक च्वाइस अवार्ड ‘सोल्टिनी’बाट मनमाया वाइबाले प्राप्त गरे। सर्वोत्कृष्ट लोकदोहोरी गीतकारको अवार्ड ‘दशैँतिहारको’बाट अमरराज पुनले जिते।
मौलिक गीत गायकको अवार्ड ‘जाउँ न सानु’बाट पवन गुरुङले प्राप्त गरे। यही विधाको जुरी अवार्ड ‘ङिला रोदिरी’बाट नरेश गुरुङ र पब्लिक च्वाइस अवार्ड ‘सोल्टिनी’बाट शुक्र तामाङले जिते। सर्वोत्कृष्ट मौलिक गीत गीतकारको अवार्ड ‘दमौलीमा झारा है’बाट ओम छिनालले प्राप्त गरे।
देउडा विधामा सर्वोत्कृष्ट गायकको अवार्ड ‘सम्रै लागि’बाट गोपाल दयालले जिते। कौडा गीततर्फ सर्वोत्कृष्ट गायकको अवार्ड ‘झुल्के घाम’बाट सुवास गुरुङ, जुरी अवार्ड ‘निरमाया’बाट प्रिजन गुरुङ र पब्लिक च्वाइस अवार्ड ‘सोल्टिनी’बाट सागर गुरुङले प्राप्त गरे।
नवप्रतिभातर्फ पर्वगीतको म्युजिक भिडियोमा नवमहिला मोडलको अवार्ड ‘भिजायो फरिया’बाट चाँदनी श्रेष्ठले जितिन्। सर्वोत्कृष्ट नवप्रतिभा आदिवासी गायिकाको अवार्ड ‘ङोल्स्यो मोयाले’बाट निमा तामाङ र नवप्रतिभा गायिका जुरी अवार्ड ‘पुरै माया’बाट सागरमाया जिरेलले प्राप्त गरे।
राजवंशी म्युजिक भिडियोतर्फ नवमहिला मोडलको अवार्ड ‘इरो मोर मोन’बाट कौशिला राजवंशीले जितिन्। गुरुङ गीतको म्युजिक भिडियोमा नवमहिला मोडलको अवार्ड ‘ङिला रोदिरी’बाट दीपशिखा गुरुङले प्राप्त गरिन्। म्युजिक भिडियो पुरुष नवमोडलको अवार्ड ‘दुःखी मान्छे’बाट कृष्ण खत्री, जुरी अवार्ड ‘पँधेरीको टुनी’बाट अर्जुन गुरुङ र पब्लिक च्वाइस अवार्ड ‘साइँली’बाट ईश्वर गुरुङले जिते। मौलिक म्युजिक भिडियो पुरुष मोडलको अवार्ड ‘तितो छ कि गुलियो’बाट सन्तोष थापा मगरले प्राप्त गरे।
लोकदोहोरी गीतको पुरुष मोडलको अवार्ड ‘झ्याप्पै’बाट सुरेश कोलीले जिते। म्युजिक भिडियो महिला मोडलको जुरी अवार्ड ‘रानी बन’बाट काली तामाङले प्राप्त गरिन्। म्युजिक भिडियो नृत्य निर्देशकको अवार्ड ‘परेवा जोडी’बाट सोनाम लामा र जुरी अवार्ड ‘भमरा’बाट जोन राईले जिते। ‘भमरा’ले वर्षको उत्कृष्ट गीतको अवार्डसमेत प्राप्त गर्यो।
म्युजिक भिडियो छायाकारको अवार्ड ‘दुई दिनको जिन्दगी’बाट भूपेन्द्र थापा मगर, सम्पादकको अवार्ड ‘निर्माया’बाट पदम सुवेदी र मेकअप आर्टिस्टको अवार्ड ‘ङोल्स्यो मोयाले’बाट सक्षम पुडासैनीले प्राप्त गरे। सर्वोत्कृष्ट सेलो गीत गायकको अवार्ड ‘धर्तीकी परी’बाट विक्रम लामा र तीज गीत गायकको अवार्ड ‘भकारीको धान’बाट कुलबहादुर ओलीले जिते।
समारोहमा डम्फुरे समाजका कलाकारले डम्फु बजाउँदै गीत प्रस्तुत गरेका थिए। सरु ढुंगेलको कोरियोग्राफीमा स्टुडियो ३६० का कलाकारले दसैँ गीतमा नृत्य प्रस्तुत गरे। अन्य कलाकारले पनि विभिन्न नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए। गायक कुलबहादुर ओलीले बादुरे गीत प्रस्तुत गरेर समारोहमा रौनक थपे।
नेपाली गीतसंगीतको प्रवर्द्धन गर्ने उद्देश्यले विगत छ वर्षदेखि अवार्ड प्रदान गर्दै आएको क्वालिटी फिल्म्सका अध्यक्ष तथा फिल्म निर्देशक उमेश गुरुङले बताए। समारोहमा कुलपति खनालले आगामी वर्षदेखि प्रतिष्ठानका तर्फबाट कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।