‘एक्का तीन’को शुभमुहूर्त, मंसिर २५ देखि छायांकन

काठमाडौं । एक्सन जनरामा निर्माण हुन लागेको फिल्म ‘एक्का तीन’को शुभमुहूर्त गरिएको छ । बिहीबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक निर्माण सुरु गरिएको हो । मुहूर्त समारोहमा फिल्मका दुई मुख्य अभिनेत्री पूजा शर्मा र कविता नेपाली उपस्थित थिए ।

मंसिर २५ गतेदेखि छायांकन सुरु हुने फिल्ममा सुशील श्रेष्ठ, बुद्धि तामाङ, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद श्रेष्ठ, ध्रुव कोइराला, अरविन्द गुरुङ, गौरव लामा, नवराज दुलाल ‘झाँक्री’, सावित्री चिलुवाल, दीक्षेन तामाङ र जयलाल दंगीलगायतका कलाकारको अभिनय रहनेछ । यही फिल्मबाट आयशा तामाङले अभिनेत्रीका रूपमा डेब्यू गर्दैछिन् ।

जुना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मलाई रुपेश तामाङले निर्देशन गर्नेछन् । उनले यसअघि ‘जय भोले’ र ‘दान्भी’ फिल्म निर्देशन गरिसकेका छन् । यी दुवै फिल्म एक्सनप्रधान थिए । रामकृष्ण खरेल र दीपेन्द्रराज तामाङ निर्माता रहेको फिल्ममा राजु श्रेष्ठ कार्यकारी निर्माता छन् । फिल्मको पटकथा तथा संवाद सुमन गजमेरले तयार पारेका हुन् ।

दुई श्रृंखलामा निर्माण हुने बताइएको फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन पोखरेल र सन्तोष प्रगाढको संगीत, साहिल खानको सम्पादन तथा राजु किराँतीको द्वन्द्व निर्देशन रहनेछ । निर्माण व्यवस्थापन रविन बानियाँले सम्हाल्नेछन् । काठमाडौं र चितवनमा छायांकन हुने फिल्मलाई सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech