फिल्मी फण्डा । अभिनेत्री अञ्जना बराइलीले चलचित्र ‘सिन्दुरे जात्रा’ कथानक र प्राविधिक रूपमा बलियो सिनेमा भएको बताएकी छन् । नाम सुन्दै आफूलाई सिनेमाले आकर्षण गरेको र कथा पढेपछि यो सिनेमामा समय मिले म पनि जोडिन्छु भनेर अनुबन्ध भएको उनले बताएकी छन् ।
कलाकार, निर्देशक र केही प्राविधिक चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को रहे पनि थुप्रै कलाकार, निर्माता र प्राविधिक अरु नै रहेको भन्दै ‘पूर्ण बहादुरको सारङ्गी’को कथासँग यो सिनेमा नमिल्ने र त्यसको सिक्वेल जस्तो पनि नरहेको उनको दाबी छ । ‘सिन्दुरे जात्रा’ महिलाकथा प्रधान सिनेमा रहेको उनले बताइन् । महिलालाई आजसम्म आइपुग्दा नेपाली समाजले कसरी हेर्छ भन्ने कथा सिनेमामा रहेको उनले प्रस्ट पारेकी छन् ।
तर, सरोज पौडेलको निर्देशन रहेको सिनेमा न्यायाधीश बन्ने प्रयास वा वकालत गर्दै पक्ष/विपक्षमा नदेखिने उनले बताएकी छन् । “हामीले यो पटक प्रश्न उठाउने प्रयास गरेका छौँ,” अञ्जना भन्छिन्, “महिलाप्रति समाजको धारणा सही छ कि छैन भनेर प्रश्न समाजलाई नै छोडेका छौँ ।” उनले आफूले सिनेमामा मौन विद्रोह गरेको उनले जानकारी दिएकी छन् । तर, कस्तो विद्रोह त्यो भने उनले प्रष्ट पारेकी छैनन् ।