‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्देशक सरोज पौडेल निर्देशित फिल्म ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार बिग मुभिजमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा प्रेममा कौडाका कारण उत्पन्न हुने परिस्थितिले प्रेमीहरूको सम्बन्धमा ल्याउने उतारचढाव र उनीहरूले भोग्नुपर्ने नियतिको कथा प्रस्तुत गरिएको छ । तत्कालीन नेपाली समाजमा पुरुषको अहंकारका कारण महिलाहरू कसरी पितृसत्तात्मक नियम र त्यसका परिणाम भोग्न विवश थिए भन्ने विषयलाई फिल्मले उठाएको निर्देशक सरोज पौडेलले बताए ।
ट्रेलरमा अभिनेता विनोद न्यौपानेको ‘डिल्लीराम’ पात्र प्रेमकथाको प्रमुख बाधकका रूपमा देखिएका छन् । विजय बराल ‘बाबुराम’ र अञ्जना बराइली ‘लक्ष्मी’को भूमिकामा छन् ।
‘पूर्णबहादुरको सारंगी’बाट दर्शकमाझ स्थापित विजय बराल र निर्देशक पौडेलबीचको पुनः सहकार्यलाई पनि फिल्मको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ । यसपटक उनीहरू फरक परिवेश र समयको कथा लिएर दर्शकमाझ आउने तयारीमा छन् ।
फिल्म मंसिर १८ गते प्रदर्शन हुनेछ । यसअघि सार्वजनिक टिजर र गीतले दर्शकको ध्यान खिचिसकेका छन् । ‘पूर्णबहादुरको सारंगी’का कलाकार र निर्देशकको दोस्रो सहकार्यले यसपटक कस्तो कथा प्रस्तुत गर्छ भन्ने झलक ट्रेलरले दिएको छ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन् । ‘सिन्दुरे जात्रा’मा विजय, अञ्जना र विनोदका अलावा उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन् । फिल्मलाई नेसनल सिने ग्रुप नेपालले वितरण गर्नेछ ।