नेपाली हास्यप्रधान फिल्म ‘ककाकिकी’को भव्य प्रिमियर सम्पन्न भएको छ। मंगलबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा फिल्मका कलाकार तथा निर्माण टिमसँगै नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार, निर्देशक र निर्माताको उपस्थिति थियो।
प्रिमियरमा फिल्म हेरेपछि सहभागी चलचित्रकर्मीले यसको कथावस्तु, प्रस्तुतीकरण र मनोरञ्जनात्मक पक्षको प्रशंसा गरेका थिए। विशेषगरी निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले फिल्ममा प्रस्तुत गरेको फरक शैली र मेहनतको तारिफ भएको थियो।
कमेडी जनरामा निर्माण भएको फिल्मका विभिन्न दृश्यमा हलमा हाँसोको फोहोरा छुटेको थियो। उपस्थित चलचित्रकर्मीसमेत फिल्म हेर्दै रमाएका थिए। उनीहरूले कलाकारको अभिनय र कथालाई प्रस्तुत गरिएको शैलीको प्रशंसा गर्दै फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।
प्रिमियरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल, किरण केसी, निर्देशक तथा निर्माता मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, शोभित बस्नेत, कलाकार जयकिशन बस्नेत, विल्सन विक्रम राई तथा गायक शिव परियारलगायत सहभागी थिए।
निर्देशक बिक्की अग्रवालले चलचित्रकर्मीबाट प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए। फिल्म निर्माणमा आफ्नो टिमले निकै मेहनत गरेको उल्लेख गर्दै उनले अब दर्शकको प्रतिक्रियाको प्रतीक्षामा रहेको बताए। आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मलाई दर्शकले दिने प्रतिक्रियालाई सहर्ष स्वीकार गर्ने उनको भनाइ थियो।
त्यस्तै, कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीले पनि प्रिमियरबाट प्राप्त प्रतिक्रियाले उत्साहित बनाएको बताए। अब आफूहरू दर्शकको प्रतिक्रियाको प्रतीक्षामा रहेको उनीहरूको भनाइ थियो।
सेन्सरबाट पायो युनिभर्सल सर्टिफिकेट
फिल्म ‘ककाकिकी’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको छ। यससँगै अब सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउने भएका छन्। हास्यप्रधान विषयवस्तुमा आधारित फिल्म परिवारका सबै सदस्यले एकसाथ बसेर हेर्न सक्ने निर्माण पक्षले जनाएको छ।
को–को छन् कलाकार ?
फिल्ममा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायतको अभिनय रहेको छ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको फिल्मका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। सुमन अग्रवालको कन्सेप्टमा तयार फिल्मको कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखेका हुन्। विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्।
फिल्मको छायांकन सुदीप बरालले गरेका हुन्। मुख्य सहायक निर्देशक अनिश बुढाथोकी र सहायक निर्देशक विशाल राई छन्। अनिश तामाङको मेकअप, सुमन परियारको कस्ट्युम डिजाइन तथा अरुण रेग्मीको प्रोडक्सन व्यवस्थापन रहेको छ।
फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ। ‘ककाकिकी’ आउँदो शुक्रबार अर्थात् मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ।