‘सुल्तान’ र ‘मर्दानी’ खिचेका डिओपीले खिच्दैछन् प्रदिपको ‘२६ करोड’

प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘२६ करोड’को छायांकन एसियन तथा युरोपियन फिल्म उद्योगमा अनुभव हासिल गरेका छायाँकार आर्टुर जुराव्स्कीले गर्ने भएका छन्।

फिल्मको छायांकनका लागि आर्टुर नेपाल आइपुगेका छन्। शनिबार नेपाल आइपुगेका उनले आइतबारदेखि वर्कसपसमेत सुरु गरेका छन्। विकास सुवेदीको निर्देशन रहने फिल्मको हाल वर्कसप भइरहेको छ। मंसिर १५ गतेदेखि छायांकन सुरु हुने निर्माता सुभाष भुसालले जानकारी दिए।

आर्टुर पोल्याण्डका छायाँकार हुन्। उनले पोल्याण्ड, भारत, अमेरिका, स्विट्जरल्यान्ड र दक्षिण कोरियाली फिल्म उद्योगमा काम गरिसकेका छन्। यसअघि उनले विकास निर्देशित नेपाली फिल्म ‘सिरजरा’मा काम गरेका थिए। ‘२६ करोड’ उनीहरूको दोस्रो सहकार्य हो।

आर्टुरले बलिउडमा सलमान खानको ‘सुल्तान’, रानी मुखर्जीको ‘मर्दानी’ र सञ्जय दत्तको ‘भूमि’जस्ता सफल फिल्मको छायांकन गरेका छन्। यी फिल्मले अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति कमाएका छन्।

आर्टुरले पोलिस नेसनल फिल्म स्कुलबाट सिनेम्याटोग्राफीमा स्नातक गरेका हुन्। उनले छायांकन गरेका फिल्मले युरोप, एसिया, अमेरिका र अस्ट्रेलियाका विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्। उनी बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवअन्तर्गतको एसियन फिल्म एकेडेमीमा सिनेम्याटोग्राफी मेन्टरका रूपमा समेत आबद्ध भइसकेका छन्।

भारतीय फिल्मबाहेक उनले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त फिल्म ‘हेड टु लभ’ (अमेरिका), ‘व्हेयर वुड यू लाइक टु गो?’ (दक्षिण कोरिया–पोल्याण्ड), ‘लोकाटोर्का’ र ‘इज् पोद प्रोंद’को पनि छायांकन गरेका छन्।

आगामी नयाँ वर्षमा रिलिजको तयारी गरिएको फिल्ममा प्रदीप खड्का र सारा अरएल शाह मुख्य भूमिकामा रहनेछन्। सारा बलिउड अभिनेता विवेक ओबेरोयकी छोरी हुन्।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सुवेदीकै लेखन रहनेछ। फिल्ममा उत्तम न्यौपानेको साउन्ड डिजाइन, निर्माता भुसालको संगीत, हर्क साउदको शब्द तथा मनोज जोशीको निर्माण नियन्त्रण रहनेछ।

असोजको पहिलो साता मुम्बईस्थित ‘ताज ल्याण्ड्स इन्ड’ होटलमा फिल्मको घोषणा गरिएको थियो। घोषणा कार्यक्रममा बलिउड अभिनेता विवेक ओबेरोयसमेत उपस्थित थिए।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech