काठमाडौं। सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘बाटुलो जून’मा समावेश गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ युट्युबको नेपाल ट्रेन्डिङमा पहिलो नम्बरमा पुगेको छ। बडादसैँको घटस्थापनाका दिन सार्वजनिक गीतको भिडियो युट्युब वर्ल्ड टपअन्तर्गत नेपालमा शीर्ष स्थानमा पुग्न सफल भएको हो।
दुई दिनमा पाँच लाखभन्दा बढी पटक हेरिएको गीतको भ्युजलाई निर्माण टिमले अर्गानिक दाबी गरेको छ। ‘केही दिनअघि सार्वजनिक टिजरमा पनि दर्शकको यस्तै सहभागिता देखिएको थियो। गीतमा पनि विशुद्ध अर्गानिक भ्युज आएको छ। यो नै नेपाली फिल्मको वास्तविक भ्युज हो,’ निर्माण टिमको दाबी छ।
गीत समग्र भिडियो ट्रेन्डिङमा पहिलो स्थानमा रहँदा ‘बाटुलो जून’को टिजर युट्युबको मुभी चार्टमा शीर्ष स्थानमै छ। कात्तिक २६ गते प्रदर्शनमा आउने फिल्मका प्रारम्भिक प्रचार सामग्रीले नै दर्शकको ध्यान खिचेपछि फिल्मप्रति अपेक्षा बढ्दै गएको देखिन्छ।
गीतको भिडियोमा प्रमुख अभिनेता अनमोल केसी र डेब्यु अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। पुरानो नेपाली समाजको संरचना समेटेर तयार पारिएको भिडियोमा कलाकारहरूको अभिनय पनि प्रशंसित भइरहेको निर्माण टिमको भनाइ छ। अनमोलसँगै प्रिन्सीको प्रस्तुतिले दर्शक तथा फिल्मका शुभचिन्तकबाट चर्चा र प्रशंसा पाइरहेको छ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको ‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन्। विवेक थापा फिल्मका सहनिर्माता हुन्।