फिल्मी फण्डा । बहुप्रतिक्षित नेपाली फिल्म ‘पाँच पाण्डव’को ट्रेलर–१ सार्वजनिक गरिएको छ । निर्माणपक्षले आज फिल्मको पहिलो आधिकारिक ट्रेलर सार्वजनिक गर्दै कथा र पात्रलाई थप रहस्यमयी बनाएको हो ।
यसअघि पोस्टर तथा प्रचार सामग्रीमार्फत मुख्य पात्रहरूलाई चिनाउँदै आएको निर्माणपक्षले ट्रेलर–१ मार्फत भने फिल्मको कथाको झल्को दिएको छ । करिब तीन मिनेट आसपासको ट्रेलरले कथाका केही महत्वपूर्ण घटनाक्रम देखाए पनि फिल्मको मूल कथा भने पूर्ण रूपमा खुलाएको छैन ।
ट्रेलरमा हरिवंश आचार्यले निर्वाह गरेको युदिस्टिर आफू स्वर्गबाट आएको बताउँदै भीम, अर्जुन, नहकुल र सहदेवको खोजीमा रहेको देखिन्छ । उनी चार पाण्डवलाई किन खोजिरहेका छन् भन्ने प्रश्नको जवाफ भने ट्रेलरले दिएको छैन । यही प्रश्नले फिल्मप्रतिको कौतूहल थप बढाएको छ ।
फिल्ममा पौराणिक महाभारतका पात्र तथा बिम्बलाई समकालीन नेपाली समाजसँग जोडिएको देखाइएको छ । पृथ्वीमा भइरहेको आन्दोलन, दमन, यातना र अपराधका दृश्यसँगै प्रेम तथा आकर्षणका प्रसंग पनि ट्रेलरमा समेटिएका छन् ।
विशेषगरी इभा गिरीले निर्वाह गरेको द्रोपदीको पात्रसँग युदिस्टिरको आकर्षणलाई ट्रेलरमा विशेष स्थान दिइएको छ । निश्चित उद्देश्य लिएर पृथ्वीमा आएका युदिस्टिर पात्र घटनाक्रमसँगै अलमलिँदै गएको देखिन्छ । यसले फिल्मले नेतृत्व, उद्देश्यबाट विचलन र सामाजिक यथार्थका केही गम्भीर पक्षलाई बिम्बात्मक रूपमा उठाएको हुनसक्ने संकेत गर्छ ।
तर निर्माणपक्षले फिल्मको मूल कथाबारे थप खुलासा गरेको छैन । यही कारण ‘पाँच पाण्डव’का पाँच मुख्य पात्र आखिर को हुन् र उनीहरूको आपसी सम्बन्ध तथा उद्देश्य के हो ? भन्ने जिज्ञासा दर्शकमाझ कायम छ ।
फिल्ममा हरिवंश आचार्य युदिस्टिर, जितु नेपाल भीम, आर्यन सिग्देल अर्जुन, महेश त्रिपाठी नहकुल र सुशील सिटौला सहदेवको भूमिकामा छन् । यसअघि सार्वजनिक पहिलो पोस्टरमा यी पाँच पात्रलाई प्रस्तुत गरिएको थियो । दोस्रो पोस्टरमार्फत द्रोपदी पात्रलाई सार्वजनिक गरिएको थियो ।
ट्रेलरमा पाँच पाण्डवसँगै दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।
बसन्त निरौलाको निर्देशन रहेको फिल्मलाई लेखक सुशील पौडेलले ‘सोसल ड्रामा’का रूपमा परिभाषित गरेका छन् । उनका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए । फिल्मकी निर्मातामा काली रानी श्रेष्ठ रहेकी छन् ।
फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलको हो । छायांकन श्याम तामाङले गरेका छन् भने सम्पादन सुप्रिम पराजुलीको रहेको छ । फाइट डाइरेक्टर सम्राट बस्नेत हुन् । गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ ।
त्यस्तै उत्तम न्यौपानेले साउन्ड डिजाइन, सुजिल कर्माचार्यले ब्याकग्राउन्ड म्युजिक (बीजीएम), पुकार धिमालले भीएफएक्स तथा रोहित राज गौतमले एचओपीको जिम्मेवारी सम्हालेका छन् । बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।
निर्देशक बसन्त निरौलाका अनुसार दर्शकले फिल्ममा डल्बी एटमस साउन्डको अनुभवसमेत लिन पाउनेछन् ।
‘पाँच पाण्डव’ तिहारको छेको पारेर आगामी कात्तिक २० गते (नोभेम्बर ६) देखि प्रदर्शनमा आउनेछ । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।