फिल्मी फण्डा । ‘कबड्डी’ शृंखलामा काजीको संघर्ष अहिलेसम्म एउटै प्रश्न वरिपरि घुमिरहेको थियो– मैयाँलाई कसरी पाउने ? तर अब कथा त्यहीँ रोकिँदैन । मैयाँको प्रेम पाइसकेपछि काजीको जीवनमा अर्को ठूलो प्रश्न खडा भएको छ– प्रेम पाएपछि जीवन कसरी चलाउने ?
यही प्रश्नको उत्तर खोज्दै आएको छ ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको सिनेमाको पाँचौँ शृंखलामा काजीको प्रेमकथा मात्र होइन, प्रेमपछि सुरु हुने उसको व्यावहारिक जीवनलाई कथाको केन्द्रमा राखिएको अभिनेता दयाहाङ राईले बताएका छन् ।
अघिल्ला चार शृंखलामा काजीले मैयाँलाई आफ्नो बनाउन गरेको संघर्ष दर्शकले हेर्दै आएका छन् । प्रेम पाउनका लागि उसले गरेको दौडधुप, असफलता, साथीभाइसँगको सम्बन्ध र गाउँले परिवेश ‘कबड्डी’को मूल स्वाद बनेको थियो । तर पाँचौँ भागमा आइपुग्दा काजीको संघर्षको स्वरूप नै परिवर्तन भएको छ ।
अब उसले मैयाँलाई पाउनका लागि मात्र होइन, प्रेम पाएपछि त्यसलाई जोगाउन, परिवार र समाजसँग मिलेर अघि बढ्न तथा आफ्नो व्यक्तिगत चाहना र जिम्मेवारीबीच सन्तुलन कायम गर्न संघर्ष गर्नुपर्नेछ ।
दयाहाङका अनुसार ‘कबड्डी ५’ले काजीको प्रेम प्राप्तिको कथाभन्दा अगाडि बढेर प्रेमपछिको जीवनको व्यावहारिक पाटोलाई प्रस्तुत गरेको छ ।
‘प्रेम प्राप्तिको संघर्षबाट अघि बढिसकेको काजीको जीवनमा अब प्रेमसँगै परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीको प्रभाव दर्शकले देख्न पाउनुहुनेछ । प्रेम पाएपछि त्यसको व्यावहारिक पाटो पनि हुन्छ । त्यही पाटो हेर्न नै ‘कबड्डी ५’ बनेको हो ।’
मैयाँ फर्किएपछि फेरि चल्नेछ काजीको मन
‘कबड्डी’को कथा मैयाँबिना पूर्ण हुँदैन । सुरुदेखि नै काजी र मैयाँको सम्बन्धले शृंखलालाई अघि बढाउँदै आएको छ । त्यसैले पाँचौँ भागमा मैयाँ फेरि काजीको जीवनमा फर्किएपछि उसको मनमा पुरानो प्रेमको हलचल आउनु स्वाभाविक रहेको दयाहाङ बताउँछन् ।
तर यसपटक काजीको अवस्था विगतभन्दा फरक छ । हिजो उसलाई मैयाँ चाहिएको थियो, आज उससँग प्रेमसँगै परिवार, समाज, साथीभाइ र भविष्यको जिम्मेवारी पनि जोडिएको छ ।
यसैले मैयाँसँगको सम्बन्ध अब केवल प्रेमको विषय रहने छैन । प्रेमलाई जीवनको हिस्सा बनाएपछि त्यससँग जोडिने अन्य सम्बन्ध र जिम्मेवारीले काजीलाई कति बदल्छन् भन्ने कुरा फिल्मको महत्वपूर्ण पक्ष बन्ने देखिन्छ ।
दयाहाङका अनुसार काजीले यसपटक आफ्नो इच्छा पूरा गर्न मात्रै होइन, आफ्नो सपना र सम्बन्ध जोगाउन धेरै कुरामा सम्झौता गर्नुपर्नेछ ।
‘यसपटक एउटा इनर्जी, उमेर, आफ्नोपनभन्दा पनि परिवार, समाज, साथीभाइ धेरै चिजसँग काजीले सम्झौता गर्छ । किनभने त्यहाँ उसको सपना जोडिएर गएको छ । हिजो प्रेम प्राप्त गर्नु थियो, यसपटक उसले धेरै चिजसँग सम्झौता गरेर जान्छ ।’
पाँच भागमा बदलिँदै गएको काजी
पहिलो भागदेखि पाँचौँ भागसम्म आइपुग्दा काजी केवल एउटा प्रेमी पात्र रहेनन् । उनको उमेरसँगै सोच, अनुभव र जीवनप्रतिको दृष्टिकोण पनि बदलिँदै गएको छ ।
पहिले मैयाँलाई पाउनका लागि हतारिने काजी अहिले प्रेम पाएपछि त्यसलाई कसरी जीवनसँग जोड्ने भन्ने अवस्थामा पुगेका छन् । यही परिवर्तनले पाँचौँ भागको काजीलाई विगतका काजीभन्दा फरक बनाउने दयाहाङको भनाइ छ ।
यस अर्थमा ‘कबड्डी ५’ केवल अर्को प्रेमकथा होइन, प्रेमपछि सुरु हुने जीवनको कथा पनि हो । प्रेम, परिवार, मित्रता, समाज र व्यक्तिगत सपनाबीच काजीले रोज्ने बाटो नै यसपटकको कथाको मुख्य आकर्षण बन्ने देखिन्छ ।
रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आगामी कात्तिक ६ गतेबाट प्रदर्शनमा आउँदैछ । लामो समयदेखि काजी र मैयाँको प्रेमकथा पछ्याउँदै आएका दर्शकका लागि यसपटकको प्रश्न भने नयाँ छ– मैयाँ पाएपछि काजीको जीवन साँच्चिकै सुखी होला त ?