फिल्मी फण्डा। नेपाल भाषाका चर्चित अनस्क्रिन जोडी मनोज महर्जन र नेरिशा महर्जन नयाँ प्रेमिल गीत ‘ज्यु ला मज्यु ला’मार्फत पुनः दर्शकमाझ आएका छन्। प्रेमभावले भरिएको गीतको म्युजिक भिडियोमा मनोज र नेरिशालाई फरक परिवेश र आकर्षक भूमिकामा देख्न सकिन्छ।
नेपाल भाषाका लोकप्रिय गीतहरूमा अभिनय गरेर दर्शकको मन जित्दै आएको यो जोडीको नयाँ प्रस्तुतिले नेपाल भाषा संगीतप्रेमीमाझ उत्सुकता बढाएको छ।
‘ज्यु ला मज्यु ला’मा नरेश प्रधानको रचना रहेको छ भने भूपति राजोपाध्यायले शब्द संयोजन गरेका छन्। नेपाल आइडलका उत्कृष्ट १० प्रतियोगीमध्येका गायक राज सायमी मानन्धरको संगीत तथा स्वर रहेको गीतमा देवेन्द्र नेवाःले संगीत संयोजन गरेका छन्। गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ महेश्वर मान राजभण्डारीले गरेका हुन्।
म्युजिक भिडियोमा मनोज महर्जन फरक पात्रमा प्रस्तुत भएका छन् भने नेरिशा महर्जन मुख्य भूमिकामा छिन्। उनीहरूसँगै अन्य कलाकारहरूको अभिनय पनि भिडियोमा समेटिएको छ।
भिडियोको निर्देशन, छायांकन तथा सम्पादन रजिन महर्जनले गरेका हुन्। स्टुडियो साउण्डमिलकी क्रिएटिभ डाइरेक्टर तथा गायिका बुनु श्रेष्ठले परियोजनाको प्रोजेक्ट डाइरेक्टरको जिम्मेवारी सम्हालेकी छन्। भिडियोको सहायक निर्देशन आराध्या लक्ष्मी खड्गी र नितेश तन्डुकारले गरेका छन्।
नेपाल भाषाका अन्य चर्चित गीतमा देखिएको यो जोडीलाई ‘ज्यु ला मज्यु ला’मा भने नयाँ परिवेश र फरक पात्रमा प्रस्तुत गरिएको छ। यसले दर्शकलाई उनीहरूको अभिनयको नयाँ आयामसँगै फरक अनुभव दिने अपेक्षा गरिएको छ।