सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक

काठमाडौं । दिवंगत अभिनेता सुनिल थापाको अभिनय रहेको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक भएको छ। नेपालको इतिहास, संस्कृति र मौलिक विशेषतालाई विश्वमाझ चिनाउने उद्देश्यसहित निर्माण गरिएको सर्भाइभल कथामा आधारित यो फिल्म आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ।

दशकौँसम्म नेपाली फिल्म क्षेत्रमा योगदान दिएका थापाको अन्तिम अभिनयलाई नेपालसहित अन्तर्राष्ट्रिय बजारका दर्शकमाझ पुर्‍याउनु उनको विरासतप्रतिको सम्मान भएको निर्माण पक्षले जनाएको छ। फिल्ममा थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापाको मुख्य अभिनय छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक धिराज राजवंशीले फिल्मलाई फरक शैलीमा निर्माण गरिएको बताए। उनका अनुसार फिल्ममा गीत छैन, तर पृष्ठभूमि संगीतले दर्शकलाई कथासँग जोड्नेछ। प्राविधिक पक्षमा अन्तर्राष्ट्रिय टोलीसँग सहकार्य गरिएको पनि उनले जानकारी दिए।

‘हिमालयन गोल्ड’ भारत, जापान र अस्ट्रेलियालगायतका देशमा नेपाली भाषामै स्थानीय भाषाका सबटाइटलसहित प्रदर्शन हुने निर्देशक राजवंशीले बताए। भारतको प्रतिष्ठित वितरक एए फिल्म्सले फिल्म डबिङ गर्ने विकल्प दिए पनि मौलिकता जोगाउन त्यसलाई अस्वीकार गरिएको उनको भनाइ छ।

“डब गर्दा फिल्मको वास्तविक अनुभूति आउँदैन। म नेपालको मौलिकता र केही फरक कुरा विश्वमाझ देखाउन चाहन्थेँ,” राजवंशीले भने।

मुख्य अभिनेत्री परीक्षा लिम्बूले ‘हिमालयन गोल्ड’ आफ्ना अघिल्ला फिल्मभन्दा फरक रहेको बताइन्। यसअघि सामाजिक विषय, पारिवारिक सम्बन्ध र प्रेमकथामा आधारित फिल्ममा काम गरेकी उनले यसपटक जीवनबाट सबै कुरा गुमाउँदा मानिससँग के बाँकी रहन्छ भन्ने विषयमा आधारित सर्भाइभल कथामा अभिनय गरेकी छन्।

नेपालमा महिला प्रधान फिल्म कम बन्ने भएकाले यो परियोजना आफ्ना लागि विशेष रहेको उनले बताइन्। छायांकन चुनौतीपूर्ण भए पनि सहज रूपमा काम सम्पन्न भएको उनको भनाइ छ।

अभिनेता कर्मा शाक्यले पनि फिल्मको पटकथा नेपाली फिल्मको परम्परागत शैलीभन्दा फरक रहेको बताए। महिला पात्रलाई केन्द्रमा राखिएका फिल्मको बजार सम्भावना पहिचान गरेकोमा उनले निर्देशकप्रति आभार व्यक्त गरे।

‘हिमालयन गोल्ड’ सम्पूर्ण भारतमा एकसाथ प्रदर्शन हुने अवसर पाउने पहिलो नेपाली फिल्म बनेको निर्माण पक्षको दाबी छ। मुम्बईमा भारतीय वितरक एए फिल्म्सका संस्थापक अनिल थडानीसँग फिल्मको औपचारिक वितरण सम्झौता भइसकेको छ। एए फिल्म्सले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजिएफ: च्याप्टर २’ र ‘पुष्पा’जस्ता चर्चित फिल्म वितरण गरेको छ।

थडानीले उत्कृष्ट कथावस्तु भएका फिल्मलाई भारतीय दर्शकमाझ पुर्‍याउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

फिल्मका वितरक तथा निर्माता नकिम उद्दिनले पनि ‘हिमालयन गोल्ड’को अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना रहेको बताए। भारतमा एए फिल्म्ससँग वितरण सम्झौता भइसकेको र जापानलगायत अन्य देशबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनले जानकारी दिए।

यस्ता मौलिक कथामा आधारित नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमा स्थान पाउन सके नेपाली फिल्म उद्योगको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने उद्दिनको भनाइ छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech