काठमाडौं । फिल्म ‘आ बाट आमा २’को ट्रेलर रिलिज भएको १३ घण्टामै युट्युब ट्रेन्डिङको तेस्रो स्थानमा पुगेको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरले उक्त अवधिमा १७ लाखभन्दा बढी भ्युज, २२ हजार लाइक र २ हजार ५०० भन्दा बढी कमेन्ट पाएको छ। ट्रेलरप्रति दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेषगरी पल शाह र मलिका महतको जोडीलाई दर्शकले मन पराएका छन्।
४ मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा आमाछोराबीचको भावनात्मक सम्बन्ध, पारिवारिक प्रेम, आर्थिक अभाव र संघर्षलाई प्रस्तुत गरिएको छ। ट्रेलरमा कुकुरको बच्चालाई गाडीले किच्न खोज्दा कृष्णको भूमिकामा रहेका पल शाहले बचाएको दृश्यले दर्शकको ध्यान खिचेको छ। आफ्नो बच्चा बचाउन भुकेको कुकुरको आवाज कसैले नसुनेपछि कृष्णले बच्चालाई बचाएको दृश्यलाई दर्शकले मन पराएका छन्।
आमाको भूमिकामा रहेकी विपना थापा र साइग्रेस पोखरेलको अभिनयको पनि प्रशंसा भएको छ। आधाको भूमिकामा देखिएकी मलिका महतको अभिनयसमेत दमदार देखिन्छ। ट्रेलरमा आकाश श्रेष्ठको भूमिका खलनायकको हुन सक्ने अनुमान गर्न सकिन्छ भने गजित विष्ट ग्यारेज साहुको भूमिकामा छन्। आर्थिक अभावका कारण भगवान्सँग हात जोडेर एक लाख रुपैयाँ मागेको दृश्यले पात्रको निराशा र बाध्यतालाई उजागर गर्छ।
आमाबुबाको सन्तानप्रतिको माया र सन्तानको आमाबुबाप्रतिको प्रेमलाई केन्द्रमा राखेर फिल्मको कथा अघि बढ्ने ट्रेलरले संकेत गरेको छ। ट्रेलरप्रति दर्शकको सकारात्मक प्रतिक्रियासँगै फिल्मको कलाकार टोली पनि उत्साहित देखिएको छ। फिल्मकर्मीहरूले समेत यसको प्रस्तुतिको प्रशंसा गरिरहेका छन्।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका छ।
फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका छन्। करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको फिल्ममा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ। ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर रहेको छ भने आरआर फिल्म्सले नेपालभर वितरण गर्ने जिम्मेवारी लिएको छ।
यसअघि प्रदर्शनमा आएको ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। त्यसैको सिक्वलका रूपमा बनेको ‘आ बाट आमा २’ शुक्रबारदेखि प्रदर्शनमा आउनेछ।