‘टनेल २६’ को रिलिज स्थगित

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ को असोज २३ (अक्टोबर ९) देखि हुने भनिएको रिलिज तत्कालका लागि स्थगित गरिएको छ।

नेपाल र भुटानमा रिलिजको तयारीमा रहेको फिल्मको ग्रान्ड प्रिमियरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएपछि निर्माण टिमले दुई देशमा मात्र सीमित नराखी विश्वव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो।

निर्माण टिमका अनुसार अब फिल्म नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वका विभिन्न देशमा प्रदर्शन गरिनेछ। त्यसका लागि आवश्यक प्रक्रिया र व्यवस्थापन पूरा गरेपछि नयाँ रिलिज मिति छिट्टै घोषणा गरिने जनाइएको छ।

‘टनेल २६’ को निर्माणमा डोर्जिस प्रोडक्सन, रेल्टिक पिक्चर्स र रोलिङ इमेज पिक्चर्सलगायतका कम्पनीको सहकार्य रहेको छ। डोर्जिस प्रोडक्सनका तर्फबाट दोर्जी वाङ्चुक, रेल्टिक पिक्चर्सबाट प्रशान्त कुमार गुप्ता र कृष्ण गुप्ता तथा रोलिङ इमेज पिक्चर्सबाट डीडी किन्ले निर्माण सहकार्यमा जोडिएका छन्। फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक तथा क्रिएटिभ प्रोड्युसर प्रदीप खड्का हुन्। सिजी ग्रुपका निर्वाण चौधरी पनि फिल्मको निर्माणमा जोडिएका छन्।

फिल्मको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका छन्। यसमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्।

फिल्मको छायांकन दीर्घ गुरुङ र सङ्गे टी. तेन्जिङले गरेका छन् भने एक्सन निर्देशन राजु तामाङको छ। निर्माण डिजाइन कृष्ण शर्माले गरेका छन्। पेमा लामोले निर्माण व्यवस्थापन तथा ब्लु छेरिङ दोर्जीले मेकअप र कस्ट्युमको जिम्मेवारी सम्हालेका छन्।

bigepti tunnel 26.jpg

फिल्ममा टेरड्साक जानपानको संगीत तथा करण थामावोङको ध्वनि संयोजन रहेको छ। निर्माण व्यवस्थापनमा लिभेन्ट्स स्टुडियो र सन्तोष कुमार कार्की पनि जोडिएका छन्।

फिल्मको प्रदर्शन स्थगित गर्नुपरेकोमा निर्माण टिमले दर्शक, सञ्चारकर्मी, प्रदर्शक तथा शुभेच्छुकहरूसँग क्षमायाचना गरेको छ। साथै, फिल्मप्रति दर्शकले देखाएको माया, उत्साह र विश्वासका लागि आभार व्यक्त गरेको छ।

निर्माण टिमले ‘टनेल २६’ लाई अझ व्यापक दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित विश्वव्यापी प्रदर्शनको तयारी अघि बढाएको जनाएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech