मलेसियामा आयोजित ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा नेपालकी प्राची तोमरले चौथो रनरअपको उपाधि जितेकी छन्। हाउस अफ फेसन नेपालका अनुसार अन्तर्राष्ट्रिय पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्दै उनले उक्त उपलब्धि हासिल गरेकी हुन्।
प्रतियोगितामा प्राचीले चौथो रनरअपको उपाधिसँगै ‘क्विन अफ एजुकेसन’ को विशेष उपाधिसमेत प्राप्त गरेकी छन्। शिक्षा, ज्ञान, व्यक्तिगत विकास तथा महिलालाई शिक्षामार्फत सशक्त बनाउने विषयप्रतिको उनको प्रतिबद्धताको कदर गर्दै उक्त उपाधि प्रदान गरिएको बताइएको छ।
प्रतियोगिताका विभिन्न चरणमा प्राचीले आत्मविश्वास, शालीनता र दृढतासहित नेपालको प्रतिनिधित्व गरेकी थिइन्। हाउस अफ फेसन नेपालका अनुसार उनको सहभागिता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय पेजेन्टको मञ्चमा नेपालको उपस्थिति विस्तार गर्ने अवसरसमेत बनेको छ।
प्राचीको सफलतालाई नेपाली महिला तथा पेजेन्ट क्षेत्रमा रुचि राख्नेहरूका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ। आफ्नो लक्ष्य पछ्याउँदै आत्मविश्वासका साथ अघि बढ्ने र छुट्टै पहिचान निर्माण गर्ने उनको यात्राले अन्य महिलालाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ।
‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअपको उपाधि जित्नु प्राचीका लागि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धि हो। उनको सफलताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली प्रतिनिधित्वलाई थप परिचित गराउन योगदान पुर्याएको छ।