काठमाडौं । वेब सिरिज ‘सायरा : ए मिरर अफ सोसाइटी’ निर्माण हुने भएको छ। अमेरिकाबाट व्यावसायिक यात्रा सुरु गर्न लागेको अस्त्र सिने स्टुडियोजले नेपालस्थित र्याड स्टुडियोजसँगको सहकार्यमा सिरिज निर्माण गर्न लागेको हो।
किशोर भण्डारीको लेखन तथा निर्देशन रहने सिरिजले ‘स्टोरीज द्याट स्ट्राइक लाइक स्टार्स’ नारा तय गरेको छ। चाँडै छायांकनमा जाने सिरिज आगामी माघ १ गते अर्थात् जनवरी १५ देखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
चर्चित नेपाली सम्पादक निशान घिमिरेले सिरिजमा चिफ एडिटर तथा प्रोजेक्ट हेडको जिम्मेवारी सम्हालिरहेका छन्। निर्माण पक्षले सिरिजको फस्टलुकसमेत सार्वजनिक गरेको छ। पोस्टरमा ‘सायरा’ शीर्षकको पछाडि चस्मा लगाएकी एक महिला कतै हेरिरहेको अवस्थामा देखिन्छिन्। त्यसको तल उपत्यकाजस्तो देखिने स्थानमा अर्की महिला हिँडिरहेकी छन् भने दायाँबायाँ केही मानिस बसिरहेको देखिन्छ।
‘आजको डिजिटल दुनियाँको लतले आम मानिसको ध्यानलाई विकृत कामतर्फ डाइभर्ट गरिरहेको छ। यो सिरिजको उद्देश्य सामाजिक विकृतिविरुद्ध आवाज उठाउँदै जनचेतना फैलाउनुका साथै मनोरञ्जन प्रदान गर्नु हो। दर्शकले परिवारसँग बसेर आनन्दका साथ सिरिज हेर्न सकून् भन्ने हाम्रो चाहना हो,’ निशानले भने।
उनका अनुसार सिरिजलाई बहुभाषिक बनाउने तयारी छ। नेपाली कथालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै विश्वव्यापी दर्शकमाझ प्रस्तुत गर्नु निर्माण पक्षको लक्ष्य रहेको उनले बताए।
सांस्कृतिक विविधतालाई समेट्न कथाको मागअनुसार नेपाल र अमेरिकामा छायांकन गर्ने तयारी भइरहेको पनि निशानले जानकारी दिए। सिरिजलाई अंग्रेजी सबटाइटलसहित विश्वका विभिन्न देशमा सहजै हेर्न सकिने बनाइनेछ। केही समयपछि कलाकार तथा प्राविधिक टिम सार्वजनिक गर्ने तयारी छ।
दुई दशकभन्दा लामो समयदेखि नेपाली फिल्म तथा म्युजिक भिडियोको विकास र रूपान्तरणमा सक्रिय निशानले सन् २०२४ मा अमेरिकामा आयोजित अमेरिकन फिल्म मार्केटको ४५औँ संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए।
लस भेगासस्थित पाम्स क्यासिनो रिसोर्टमा आयोजित उक्त कार्यक्रममा ८० देशका प्रतिनिधिले फिल्म लगानी, वित्तीय व्यवस्थापन, निर्माण, वितरण, नयाँ प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), फिल्म स्ट्रिमिङ र कथावाचनलगायत विषयमा अनुभव तथा विचार आदानप्रदान गरेका थिए।
निशानले आफ्नो कम्पनी र्याड स्टुडियोमार्फत नेपाली फिल्मका विशेषता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका थिए। उनले नेपालको कथावाचन परम्परा, फिल्म निर्माणमा प्रयोग भइरहेका आधुनिक प्रविधि र छायांकनका लागि उपयुक्त प्राकृतिक स्थानहरूको सम्भावनाबारे चर्चा गरेका थिए।
यसअघि सन् २०२३ मा बेलायतको लन्डनमा आयोजित ‘फोकस २०२३ : मिट द मेकर्स’ सम्मेलनमा समेत सहभागी भएका निशानले नेपाली फिल्म उद्योगको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।