‘पेन्सन पट्टा’ले उछिन्यो ‘लालीबजार’, कमाइ ९ करोड ५५ लाख

दयाहाङ राई अभिनीत फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा आफ्नो कमाइ ९ करोड ५५ लाख रुपैयाँ पुर्‍याएको छ। भदौ २६ गतेदेखि प्रदर्शनमा आएको फिल्म पाँचौं हप्तामा प्रवेश गर्दा यस वर्ष रिलिज भएका नेपाली फिल्ममध्ये कमाइका आधारमा दोस्रो स्थानमा पुगेको छ।

फिल्मका वितरक रोहित कट्टेलका अनुसार ‘पेन्सन पट्टा’ले हालसम्म ९ करोड ५५ लाख रुपैयाँ ग्रस कमाइ गरेको हो। पाँचौं हप्तामा पनि देशभर झन्डै ७० भन्दा बढी शोमा प्रदर्शन भइरहेको फिल्मले यो साता ११ करोड रुपैयाँ कमाइको लक्ष्य पछ्याइरहेको छ।

‘पेन्सन पट्टा’ले बक्सअफिसमा ‘लालीबजार’लाई पछि पारेको छ। फिल्म विकास बोर्डको आधिकारिक तथ्यांकअनुसार ‘लालीबजार’को कुल ग्रस कमाइ ९ करोड ३२ लाख ९ हजार ९ सय २५ रुपैयाँ ८९ पैसा रहेको छ।

माओत्से गुरुङको निर्देशनमा बनेको ‘पेन्सन पट्टा’ले प्रदर्शनका सुरुवाती दिनमा कमजोर व्यापार गरे पनि मध्य सातादेखि कमाइ बढाउँदै लगेको थियो। पाँचौं हप्तासम्म पनि उल्लेख्य शो पाउनुले फिल्मको प्रदर्शन यात्रा सकारात्मक रहेको संकेत गर्छ।

फिल्मको कथा भारतीय सेनामा कार्यरत बाबुको मृत्युपछि पेन्सनमा आमाको नामको सट्टा अर्कै महिलाको नाम रहेको थाहा पाउने पात्रको वरिपरि घुम्छ। पेन्सनमा नाम लेखाउने उद्देश्यले सानी आमाको खोजीमा निस्किएको पात्रको यात्रालाई फिल्मले प्रस्तुत गरेको छ।

फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ र अनुशा राईलगायत कलाकारले अभिनय गरेका छन्। आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गरेको फिल्मका निर्माता मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ हुन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech