‘छ माया छपक्कै २’को दोस्रो गीतमा दीपक–केकीको रोमान्स, सनिशाको इन्ट्री

फिल्मी फण्डा। यस वर्षको प्रतीक्षित फिल्म ‘छ माया छपक्कै २’को दोस्रो गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक भएको छ ।

सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत छ । रोमान्टिक शैलीको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई फिचर्ड छन् ।

भिडियोमा श्रीमान्–श्रीमतीको भूमिकामा रहेका दीपक र केकीको प्रेमिल सम्बन्ध प्रस्तुत गरिएको छ । उनीहरूको प्रेमकथामा सनिशाको प्रवेशले कथामा नयाँ मोडको संकेत गर्छ । गीतले फिल्ममा त्रिकोणात्मक प्रेमकथाको झल्को दिए पनि वास्तविक कथा भने फूलपातीपछि मात्रै खुल्ने निर्माण टिमको भनाइ छ ।

किरण थापाले कोरियोग्राफी गरेको गीतको भिडियो रोमान्टिक शैलीमा तयार पारिएको छ ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आइएमईको संयुक्त प्रस्तुतिमा बनेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । निर्देशक लामा र दीपकराज गिरीको कथा रहेको फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले लेखेका छन् । दीपाश्री निरौला सल्लाहकारका रूपमा रहेकी छन् ।

फिल्ममा दीपक, केकी र सनिशासँगै कर्मा, रिहान गिरी, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे, निर्मल शर्मा लगायतको अभिनय छ । निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता हुन् ।

‘छ माया छपक्कै २’ असोज ३१ गते फूलपातीका दिनदेखि प्रदर्शनमा आउनेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech