काठमाडौँ । पल शाह र मलिका महत अभिनीत ‘अचेल किन कान्छी’ गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। ‘आ बाट आमा २’मा समावेश गीतको भिडियोले रिलिजको सातौँ दिनमै ट्रेन्डिङ नम्बर वानको स्थान हासिल गरेको हो।
गीतको भिडियोले ६० लाख ५० हजारभन्दा बढी भ्युज पाइसकेको छ भने एक लाखभन्दा बढी लाइक र ६ हजार ६ सयभन्दा बढी कमेन्ट प्राप्त गरेको छ। कमेन्टमा दर्शकले पल र मलिकाको जोडीको प्रशंसा गर्दै उनीहरूलाई ‘राजा–रानी’को संज्ञासमेत दिएका छन्।
निर्देशक चन्द्र पन्तले दर्शकको चाहनाअनुसार पल र मलिकाको जोडीलाई फिल्ममा प्रस्तुत गरिएको बताए। उनका अनुसार दर्शकको मागलाई ध्यानमा राखेर फिल्मको कथा तयार पारिएको हो।
गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतमा पल शाह, मलिका महत र आकाश श्रेष्ठ देखिएका छन्। सामूहिक विवाहको परिवेशमा प्रस्तुत गीतमा आकाश खलनायकको भूमिकामा देखिएका छन्।
बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा रवि ओड र गंगा सोनामको स्वर छ। ‘आ बाट आमा २’ पल र मलिकाको पहिलो फिल्म सहकार्य पनि हो।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायत कलाकारको अभिनय छ।
नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्दैछ। फिल्म असोज ३० गतेदेखि प्रदर्शनमा आउनेछ।