‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’को अडिसन सम्पन्न

काठमाडौं । राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’को अडिसन काठमाडौंको नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट्समा सम्पन्न भएको छ।

क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सीआईएफटी)को आयोजनामा भएको अडिसनमा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि एक महिनाअघि नै आवेदन खुला गरिएको थियो।

अडिसनको निर्णायकमा मिस नेपाल २००० उषा खड्गी, अन्तर्राष्ट्रियस्तरका कोरियोग्राफर रोजिन शाक्य, कलाकर्मी डटकमकी समाचार सम्पादक अरुणा भट्टराई तथा सीआईएफटीकी प्रमुख सुचिता सची रहेका थिए।

अडिसनबाट छनोट हुने २५ जना प्रतिस्पर्धीलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइनेछ। प्रतियोगिताको ग्रान्ड फिनाले आगामी मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुने आयोजकले जनाएको छ।

सीआईएफटीकी प्रमुख सुचिता सचीका अनुसार प्रतियोगितामा फेसन र सौन्दर्यसँगै व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली तथा सामाजिक चेतनालाई प्राथमिकता दिइएको छ।

“प्रतियोगिताको उद्देश्य बाह्य सौन्दर्यलाई मात्र आधार बनाएर विजेता छनोट गर्नु होइन। व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा र सामाजिक चेतनालगायतका पक्षलाई पनि मूल्यांकन गरिनेछ,” सचीले बताइन्।

सीआईएफटीका अनुसार ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’मार्फत विभिन्न उमेर समूहका प्रतियोगीबाट तीन अन्तर्राष्ट्रिय उपाधिका लागि नेपाली प्रतिनिधि छनोट गरिनेछ। एउटै राष्ट्रिय मञ्चबाट ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ तथा ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’का लागि योग्य प्रतियोगी छनोट गरिने आयोजकले जनाएको छ।

‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’की विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड २०२६’मा नेपालको आधिकारिक प्रतिनिधित्व गर्नेछिन्। आयोजकका अनुसार उक्त प्रतियोगिता भारतमा सन् २०२६ को अन्त्यतिर आयोजना गर्ने तयारी भइरहेको छ।

सीआईएफटीले फेसन तथा सौन्दर्य क्षेत्रमा रुचि राख्ने युवतीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्नुका साथै यस क्षेत्रमा व्यावसायिक अवसर खोज्न प्रतियोगिताले प्लेटफर्म प्रदान गर्ने जनाएको छ।

कलाकर्मी ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’को अफिसियल मिडिया पार्टनर हो।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech