फिल्मी फण्डा । भदौ २६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको तेस्रो सातामा पनि आफ्नो बलियो उपस्थिति कायम राखेको छ। पहिलो सातादेखि नै दर्शकको राम्रो साथ पाउँदै आएको फिल्मले हालसम्म ६ करोड रुपैयाँभन्दा बढीको ग्रस कारोबार गरेको छ।
चलचित्र विकास बोर्डको बक्स अफिस प्रणाली सिनेपाका अनुसार ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो सातामै ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। दोस्रो सातामा पनि राम्रो व्यापारलाई निरन्तरता दिँदै फिल्मले ६ करोडभन्दा बढीको कारोबार गर्न सफल भएको हो।
तेस्रो सातामा प्रवेश गरिसक्दा पनि फिल्मप्रति दर्शकको चासो घटेको छैन। तेस्रो हप्ता पनि फिल्मले १०६ शो खल्ति एपमा पाएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न हलमा फिल्मले राम्रो शो तथा अकुपेन्सी कायम गरिरहेको निर्माण पक्षले जनाएको छ। कतिपय हलमा दर्शकको चाप अझै उत्साहजनक रहेको बताइएको छ।
पारिवारिक सम्बन्ध, प्रेम, त्याग, जिम्मेवारी र निवृत्त जीवनसँग जोडिएको कथावस्तु फिल्मको मुख्य आकर्षण बनेको छ। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र सामाजिक सञ्जालमा भइरहेको चर्चाले पनि फिल्मको व्यापारलाई निरन्तरता दिन सहयोग गरेको निर्माण पक्षको भनाइ छ।
फिल्मको व्यापार उत्साहजनक बनेपछि निर्माण टोली विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट तथा प्रतिक्रिया लिइरहेको छ। नेपालमा राम्रो दर्शकीय साथ पाइरहेको ‘पेन्सन पट्टा’ विदेशका विभिन्न सहरमा समेत प्रदर्शन भइरहेको छ।
माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ। तेस्रो सातामा पनि दर्शकको साथ निरन्तर रहने विश्वास निर्माण पक्षले गरेको छ।