वर्षाले रोक्यो ‘शुभ विवाह’को छायांकन

फिल्मी फण्डा । सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’को छायांकन तीन दिनका लागि रोकिएको छ। लगातारको भारी वर्षा र प्रतिकूल मौसमका कारण निर्माण पक्षले असोज ९, १० र ११ गते छायांकन स्थगित गरेको हो।

कलाकार तथा प्राविधिक टोलीको सुरक्षा र सरकारले जारी गरेको उच्च सतर्कताको सूचनालाई मध्यनजर गर्दै छायांकन रोकिएको निर्माण पक्षले जनाएको छ।

४५ दिनको सेड्युलसहित पोखराबाट छायांकन सुरु गरिएको फिल्म अहिले अन्तिम चरणमा पुगेको छ। गीतबाहेक अधिकांश दृश्यको छायांकन सकिएको निर्देशक सुदर्शन थापाले बताएका छन्। बाँकी गीतको छायांकन पनि अबको करिब १० दिनभित्र पूरा गर्ने तयारी छ।

‘प्रेम गीत’पछि सुदर्शन थापा र अभिनेता प्रदीप खड्का लामो समयपछि ‘शुभ विवाह’मार्फत एकसाथ आएका हुन्। रोमान्टिक कथामा आधारित फिल्ममा प्रदीपसँगै सनिशा भट्टराई मुख्य भूमिकामा छन्।

प्रियदर्शन फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन्। प्रदीप श्रीवास्तवको कथा तथा रामशरण पाठकको पटकथा–संवाद रहेको फिल्म आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech