फिल्मी फण्डा । निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण तथा निर्देशन भएको बहुप्रतीक्षित नेपाली फिल्म ‘आचार्य’ले प्रदर्शनको पहिलो दिन नै दर्शकको उल्लेख्य साथ पाएको छ । असोज ९ गते शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले देशभर झरीका बीच पनि उत्साहजनक अकुपेन्सी कायम गरेको हो ।
‘आचार्य’ले शुक्रबारदेखि नै देशभरका हलमा उल्लेख्य शो पाएको थियो । शनिबार दोस्रो दिनका लागि पनि देशभरको बुकिङ प्लेटफर्म खल्तीमा मात्रै ९६ शो उपलब्ध छन् । खल्तीमा समावेश नभएका सिंगल थिएटर तथा अन्य हलहरूमा समेत ५० भन्दा बढी शो रहेको निर्माण पक्षले जनाएको छ । यसअनुसार देशभर झन्डै १५० भन्दा बढी शोसहित ‘आचार्य’ प्रदर्शन भइरहेको छ ।
शुक्रबार देशभर वर्षाका कारण जनजीवन प्रभावित भए पनि काठमाडौंसहित देशभरका हलमा फिल्मले औसत अकुपेन्सी कायम गरेको थियो । राजधानीबाहिरका दुई दर्जनभन्दा बढी हलमा भने ‘आचार्य’का शो हाउसफुल भएको निर्माण पक्षको भनाइ छ ।
पहिलो दिनको दर्शक प्रतिक्रियाबाट उत्साहित अभिनेता तथा निर्देशक निखिल उप्रेतीले व्यापारभन्दा पनि प्रतिकूल मौसमका बीच दर्शक हलसम्म पुगिदिनुलाई ठूलो माया भएको बताएका छन् ।
‘व्यापारभन्दा पनि झरीको बेला दर्शक हाम्रो लागि हलसम्म आइदिनुभएको छ । योभन्दा ठूलो माया के हुन सक्छ र ?’ पानीमा रुझेर काठमाडौंका अधिकांश हलमा दर्शकको खचाखचले मन छोएको छ । अझै साथ सपोर्टको आशा राखेको छु । निखिलले भने ।
मौसममा सुधार आएसँगै देशभरका दर्शकलाई एकपटक ‘आचार्य’ हेरेर आफ्नो मनको प्रतिक्रिया दिन निखिलले आग्रह गरेका छन् ।
‘धेरै ठूलो अपेक्षा बोकेर आचार्य नहेर्नुस् । नेपालीपन र नेपाली परिवेशमा यति धेरै एक्सन भएको चलचित्र बनाएको छु । एकपटक एक्सनको कोणबाट हेरेर मनन गरिदिनुस्, कन्टेन्ट पनि पक्कै पाउनुहुनेछ,’ उनले भने ।
पहिलो दिन दर्शकबाट पाएको साथ र मायाले आफू उत्साहित रहेको बताउँदै निखिलले वर्षाका कारण पहिलो दिनको अवस्थालाई ध्यानमा राखेर देशभरका दर्शकलाई फिल्मलाई साथ दिनसमेत आग्रह गरेका छन् ।
‘पहिलो दिनको साथ र मायाले म उत्साहित छु । झरीका कारण पहिलो दिनको अवस्थालाई पनि ध्यानमा राखेर देशभरका सबै दर्शकलाई आचार्यलाई सपोर्ट गरिदिनुहुन अनुरोध गर्दछु,’ निखिलले भने ।
‘आचार्य’ निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको फिल्म हो । फिल्मको निर्देशन पनि निखिल उप्रेतीकै रहेको छ । ट्रेलर सार्वजनिक भएदेखि नै चर्चामा रहेको फिल्ममा निखिलको एक्सन अवतारसँगै नेपाली परिवेशमा प्रस्तुत गरिएको कथालाई केन्द्रमा राखिएको छ ।