फिल्मी फण्डा । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित नयाँ सिनेमा ‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक गरिएको छ । गण्डकी क्षेत्रमा प्रचलित कौडा शैलीमा तयार पारिएको गीतले सिनेमाको सांस्कृतिक स्वादलाई प्रस्तुत गरेको छ ।
एसडी योगी र रेश्मा पुनको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द तथा एसडी योगीकै संगीत छ । रिकेश गुरुङ (किज) संगीत निर्माता रहेको गीतमा रत्न बीकेको बाँसुरी, मदन रेग्मीको मादल तथा खैंजडी, शिशिर परियारको पञ्चेबाजा र हेमन्त कान्छा रसाइलीको सारंगी सुन्न सकिन्छ ।
गीतको भिडियोमा सोनम तोप्देन र उपासना सिंह ठकुरी फिचर्ड छन् । सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरको कोरियोग्राफी रहेको भिडियोमा सिनेमाका अन्य कलाकार अस्तित्व भट्टचन, राजु रेग्मी मगर, दीपिका मगर, भावना मगर र प्रवेश राईलाई पनि देख्न सकिन्छ ।
यसअघि सार्वजनिक गरिएको ‘चाँदी चलप’ गीतले दर्शकको राम्रो प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ । पहिलो गीतपछि सार्वजनिक गरिएको ‘जाले रुमाल मायालाई’ले पनि दर्शकको उत्तिकै माया पाउने निर्माण पक्षको अपेक्षा छ ।
‘जलाकी’मा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगरलगायतका कलाकारको अभिनय छ । विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर रहेका छन् ।
यही सिनेमाबाट ‘मिस सिक्किम’ साहारा हाङमा लिम्बूले नेपाली फिल्ममा डेब्यु गरेकी छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको सिनेमा आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर, राधा थापा र सुस्मिता बुढाथोकी हुन् ।
‘खुस्मा’को सफलतापछि निर्देशक अशोक थापा मगर ‘जलाकी’मार्फत पनि दर्शकमाझ पुग्दैछन् । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले गर्नेछ ।