फिल्मी फण्डा । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ले मुख्य कलाकारहरूको क्यारेक्टर सार्वजनिक गरेको छ । निर्माण टिमले बिहीबार सार्वजनिक गरेको फस्र्टलुक पोस्टरमार्फत पाँच प्रमुख पात्रको परिचय गराएको हो ।
पोस्टरमा हरिवंश आचार्यलाई युधिष्ठिर, जितु नेपाललाई भीम, आर्यन सिग्देललाई अर्जुन, महेश त्रिपाठीलाई नकुल र सुशील सिटौलालाई सहदेवका रूपमा प्रस्तुत गरिएको छ । पाँचै कलाकारलाई बग्गीमा देखाइएको पोस्टरमा उनीहरूको चरित्र र आपसी सम्बन्ध झल्काउने प्रयास गरिएको छ ।
सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । ‘सोसल ड्रामा’ भनिएको चलचित्रमा महाभारतका पाण्डव पात्रको बिम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको निर्देशक निरौलाले बताएका छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सिता न्यौपाने लगायतका कलाकारको पनि अभिनय छ ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता तथा काली रानी श्रेष्ठ निर्माता रहेको चलचित्रको पोस्ट प्रोडक्सन अन्तिम चरणमा छ । चलचित्रको सम्पूर्ण साउन्ड डल्बी एटमसमा तयार पारिएको निर्माण पक्षले जनाएको छ ।
‘पाँच पाण्डव’ आगामी कार्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि प्रदर्शनमा आउनेछ । चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले देशव्यापी वितरण गर्नेछन् ।