‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक, देखासिकीको कथा

फिल्मी फण्डा।  रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक गरिएको छ। शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको गीतमा प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द छ।


तीजको अवसरलाई लक्षित गरेर सार्वजनिक गरिएको लोक फ्लेभरको गीतले पछिल्लो समय तीज संस्कृति पर्वभन्दा पनि देखासिकी गर्ने माध्यम बन्दै गएको यथार्थलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरेको छ। अरूले लगाएको जस्तै पहिरन र गहना आफूले पनि लगाउनुपर्ने तथा त्यसका लागि ऋणधन गरेर भए पनि श्रीमान्सँग माग्ने प्रवृत्तिलाई गीतमा समेटिएको छ।


डान्सिङ बिटमा तयार पारिएको गीतमा श्रीमान्ले श्रीमतीको इच्छा पूरा गर्ने वाचा गरेको प्रसंगसमेत प्रस्तुत गरिएको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकारसँगै पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहलाई पनि देख्न सकिन्छ। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा दर्जनौँ कोरस कलाकार सहभागी छन्।


‘दिया एन्ड अमु फिल्म्स’को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा छन्। लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ।


हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ। ध्रुव लम्सालले पटकथा लेखेका छन्।


‘माया भनेकै यस्तो होला’ रेखा थापाको आठ वर्षपछि निर्देशनमा कमब्याक फिल्म हो। फिल्म आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ।
सुदीप बरालको छायांकन रहेको फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, सुजेनी मल्ल ड्रेस डिजाइनर, प्रिया कार्की मेकअप तथा चुडामणि (सीएम) प्रोडक्सनमा छन्।


फिल्मको संगीत प्रशान्त शिवाकोटीले तयार पारेका छन्। फिल्मलाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech