अग्रिम बुकिङमै ‘कबड्डी ५’का शो हाउसफुल, यस वर्षकै उच्च माग

फिल्मी फण्डा । कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को अग्रिम बुकिङमै १० भन्दा बढी शो हाउसफुल भएका छन्। कात्तिक २ गते बुकिङ खुला गरिएको फिल्मका ३० भन्दा बढी शोमा ५० प्रतिशतभन्दा बढी अकुपेन्सी देखिएको छ।

हालसम्म शुक्रबारका लागि फिल्मले ११३ शो पाएको छ। फ्रेन्ड्स सिनेमा, वान सिनेमाज, सीके सिनेमा, इन्फिनिटी, कमलबिनायक, भिएफएक्स सिनेमा, बामेल, कावासोती, एसटीएस सिनेमा, सिटी सिनेमा, विराट सिने, लाइट सिनेमा, एसके सिनेमा, कीर्तिपुर सिनेप्लेक्स, जय नेपाल, मिडटाउन र जीएसएफ सिनेमालगायतका हलमा शो खुल्न बाँकी छ। ती हलमा समेत बुकिङ खुलेपछि फिल्मले देशभर १७७ भन्दा बढी शो पाउने अनुमान गरिएको छ।

प्रदर्शनको चार दिनअघि नै बुकिङ खुल्नु र छोटो समयमै केही शो हाउसफुल हुनुलाई यस वर्ष नेपाली फिल्ममा देखिएको उच्च मागका रूपमा हेरिएको छ। अग्रिम बुकिङको यही गतिका आधारमा फिल्मले पहिलो दिन घरेलु बक्स अफिसमा १ करोड २० लाख रुपैयाँसम्मको ओपनिङ गर्न सक्ने अनुमान गरिएको छ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, रिश्मा गुरुङ र सिर्जना गुरुङलगायत कलाकारको अभिनय छ। बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन् भने सागर राज कार्यकारी निर्माता छन्।

निर्देशक गुरुङ तथा कलाकार दयाहाङ राई, विपिन कार्की, बुद्धि तामाङ, विजय बराल र सिर्जना गुरुङलगायतले दर्शकलाई आफूलाई अनुकूल हुने हल र समयको टिकट अग्रिम बुकिङमार्फत सुरक्षित गर्न आग्रह गरेका छन्।

IMG_6374.png

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech