सुनको भाउदेखि बेरोजगारीसम्मका गुनासा समेटिएको तीज गीत सार्वजनिक

फिल्मी फण्डा। यस वर्षको तीजलाई लक्षित गर्दै गायक सुरेश शाहीको स्वरमा नेपाली महिलाका दैनिक भोगाइ, पारिवारिक सम्बन्ध र देशमा बढ्दो बेरोजगारीलगायतका विषयलाई रमाइलो ढंगले प्रस्तुत गरिएको नयाँ तीज गीत सार्वजनिक भएको छ।

गायक शाहीको युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतमा नवोदित गायिका विनूशा राईको स्वर रहेको छ। गीतको रचना व्यवसायी सुमित्रा खड्काले गरेकी हुन्। म्युजिक भिडियोमा गायक सुरेश शाही, सुमित्रा खड्का, सुदिपा पाठक र विक्की विश्वकर्माले अभिनय गरेका छन्। भिडियोको निर्देशन शेर शाहीले गरेका हुन्।

गीतमा महिलाले बढ्दो सुनको मूल्यप्रति श्रीमान्सँग गुनासो गरेकी छन्। ‘सुनको भाउ बढेर छोइसक्नु भएन’ भन्दै उनले तीजमा गरगहना लगाउने चाहना पूरा गर्न नसकेको पीडा व्यक्त गरेकी छन्। त्यसको जवाफमा श्रीमान्ले आफ्नो आर्थिक अवस्थाका कारण परेको बाध्यता सुनाएका छन्।

गीतको अर्को अन्तरा सासू–बुहारी सम्बन्धमा केन्द्रित छ। सासूले दूध नदिएको, बुहारीले घाँस नकाटेकोदेखि घरभित्र हुने सामान्य भनाभनसम्मका प्रसंगलाई गीतमा हास्यरसमा प्रस्तुत गरिएको छ। ‘सासू–बुहारी नमिलेको घर कहाँ छ ?’ भन्ने भावमार्फत सम्बन्धमा समझदारी आवश्यक रहेको सन्देश दिन खोजिएको छ।

त्यस्तै, नन्दले लगाउने कुरा र सासूको व्यवहारदेखि श्रीमान्–श्रीमतीबीचका गुनासासमेत गीतमा समेटिएका छन्। एउटै कुरा पटक–पटक भन्ने श्रीमान्को बानीदेखि आफूले बोलेका कुरा श्रीमतीले नसुन्नेसम्मका प्रसंगलाई रमाइलो संवादका रूपमा प्रस्तुत गरिएको छ।

गीतको अन्तिम भागमा भने समसामयिक विषयका रूपमा वैदेशिक रोजगारी र बेरोजगारीलाई उठाइएको छ। जेठाजु युरोप र देवर अमेरिका पुगे पनि आफ्ना श्रीमान् भने स्वदेशमै बेरोजगार रहेको महिलाको गुनासो गीतमा छ। विदेशमा रहेका आफन्तले सम्मान पाउने तर स्वदेशमै रहेका पुरुषले आफ्नै आफन्तबाट अपहेलना भोग्नुपर्ने अवस्थालाई पनि गीतले प्रस्तुत गरेको छ।

तीजको रमझमसँगै महँगी, पारिवारिक सम्बन्ध, बेरोजगारी, वैदेशिक रोजगारी र दाम्पत्य जीवनका साना–ठूला गुनासालाई एउटै कथामा बुनेको गीतले नेपाली समाजको बदलिँदो पारिवारिक तथा आर्थिक अवस्थालाई हास्यरसमा प्रस्तुत गरेको छ।

गीतकार सुमित्रा खड्काले यस तीजमा महिलाहरूले गीतमा नाचेर तथा गाएर भरपूर मनोरञ्जन लिने विश्वास व्यक्त गरेकी छन्।

 
 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech