‘ए मेरो हजुर ५’ मा पुनः अनमोल–सुहाना जोडी

फिल्मी फण्डा। नेपाली फिल्म ‘ए मेरो हजुर’ को पाँचौं श्रृंखलामा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन्। निर्माता सुनिलकुमार थापा र अनमोलबीच सोमबार औपचारिक सम्झौता भएको हो।

थापाले अनमोललाई शीर्ष भूमिकामा अनुबन्ध गरिएको जानकारी दिएका छन्। अनमोलले पनि सामाजिक सञ्जालमार्फत नयाँ प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित भएको बताएका छन्। उनले लेखेका छन्, ‘‘लामो समयको विश्रामपश्चात एउटा नयाँ अध्यायको सुरुवात गर्दैछु। म ‘जेरी अन टप’, ‘बाटुलो जुन’ र ‘ए मेरो हजुर ५’मार्फत नेपाली फिल्म उद्योगमा नयाँ जोशका साथ फर्किंदैछु भन्ने कुरा साझा गर्न पाउँदा निकै हर्षित छु।’’

यसअघि ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ मा अनमोल र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिएका थिए। पाँचौं श्रृंखलामा पनि दर्शकले यही जोडी पुनः देख्न पाउने छन्।

निर्माता थापाका अनुसार फिल्म ‘बाटुलो जुन’ को छायांकनपछि ‘ए मेरो हजुर ५’ को सुटिङ सुरु गरिनेछ। सहायक भूमिकामा नयाँ कलाकारलाई पनि स्थान दिइने उनले जानकारी दिए।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech